बढ्यो महँगी, भदौमा मुद्रास्फीति ६.३४ प्रतिशत पुग्यो

अनलाइनसमय |
२९ असोज २०८३
बढ्यो महँगी, भदौमा मुद्रास्फीति ६.३४ प्रतिशत पुग्यो

काठमाडौं, २८ असोज । चालू आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १ दशमलव ८७ प्रतिशत मात्रै थियो ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव ५४ प्रतिशत पुगेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५ दशमलव ६९ प्रतिशत रहेको छ । गत वर्षको भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १ दशमलव ३४ प्रतिशत ऋणात्मक थियो । त्यस्तै, गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ७० प्रतिशत रहेको थियो ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत सबैभन्दा बढी घ्यू तथा तेलको मूल्य बढेको छ । यस उपसमूहको उपभोक्ता मूल्य सूचकांक वार्षिक रूपमा १६ दशमलव ६८ प्रतिशतले बढेको छ । त्यस्तै, फलफूलको मूल्य १५ दशमलव ९९ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १२ दशमलव १४ प्रतिशत, माछा तथा मासुको ७ दशमलव ३४ प्रतिशत, तरकारीको ७ दशमलव ०७ प्रतिशत र मरमसलाको ६ दशमलव ७१ प्रतिशतले बढेको छ ।

गैरखाद्य तथा सेवा समूहमा यातायातको मूल्य सूचकांक १२ दशमलव ७७ प्रतिशतले बढेको छ । यसैगरी, मदिराजन्य पेय पदार्थको मूल्य ८ दशमलव ८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७ दशमलव ०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६ दशमलव ०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ ।

क्षेत्रगत आधारमा हेर्दा सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा महँगी बढी देखिएको छ । भदौमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ६ दशमलव ७८ प्रतिशतले बढ्दा सहरी क्षेत्रको सूचकांक ६ दशमलव१९ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस