युक्रेनी ड्रोनको गति सुस्त हुनुमा अमेरिकी सरकारको हात हुन सक्ने मस्कको दाबी

अनलाइनसमय |
२९ असोज २०८३
युक्रेनी ड्रोनको गति सुस्त हुनुमा अमेरिकी सरकारको हात हुन सक्ने मस्कको दाबी

काठमाडौं, २९ असोज । अर्बपति इलोन मस्कले युक्रेनका केही हतियारहरूको गति र स्पेसएक्सको स्टारलिङ्क इन्टरनेट नेटवर्कसँग जोडिने क्षमतामा लगाइएको प्रतिबन्धको पछाडि अमेरिकी सरकारको हात हुन सक्ने दाबी गरेका छन् ।

रुसमा निशाना बनाउन ड्रोनहरूलाई निर्देशित गर्ने तथा युक्रेनी आकाशको सुरक्षामा समेत स्टारलिङ्क किएभका लागि एउटा महत्त्वपूर्ण साधनका रूपमा रहिआएको छ ।तर गतिमा देखिएको अनपेक्षित नयाँ सीमितताले लडाइँमा असर पु¥याइरहेको युक्रेनले मङ्गलवार राति बताएको थियो ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका एक सल्लाहकारले यी प्रतिबन्धहरू संयोग मात्र नभई किभ र वासिङ्टनबीच हालै बढेको तनावसँग सम्बन्धित रहेको विश्वास व्यक्त गरेका छन् ।

मस्कका अनुसार स्टारलिङ्कको सैन्य–स्तरीय भगिनी सेवा स्टारसिल्ड अमेरिकी सरकारको नियन्त्रणमा छ, र गति वा प्रयोगमा लगाइने कुनै पनि सीमाको निर्णय अमेरिकी सेना र अन्ततः अमेरिकी राष्ट्रपतिले गर्ने गर्दछन् ।

युक्रेनी अधिकारीहरूले इन्टरनेट सेवा पुनः सञ्चालन गर्न गरेको अपिलको जवाफ दिँदै मस्कले एक्स मा उक्त कुरा लेखेका हुन् । यसअघि यूके मिडियासँग कुरा गर्दै जेलेन्स्कीले भनेका थिए, ‘मलाई आशा छ यो एउटा गल्ती वा ठूलो प्राविधिक समस्या हो । मलाई थाहा छैन, तर हामी यसलाई सञ्चालन गर्न अनुरोध गरिरहेका छौँ ।’

मस्कको स्पेसएक्स स्वामित्वमा रहेको स्टारलिङ्कले मङ्गलबार राति १०० माइल प्रतिघण्टा (१६० किमी÷घण्टा) भन्दा बढी गतिमा उड्ने हतियारहरूको नेटवर्क सम्पर्क टुट्ने गरी गति सीमा तोकेको थियो ।

युक्रेनका पूर्व रक्षा मन्त्री माइखाइलो फेदोरोभका अनुसार बुधबार साँझसम्ममा सेवा आंशिक रूपमा पुनः सञ्चालनमा आएको थियो ।

‘युक्रेनको रक्षाका लागि स्टारसिल्डको गति सीमा पूर्ण रूपमा हटाउनु अहिले अति आवश्यक छ ।’, उनले इलोन मस्कलाई निरन्तर सहयोगका लागि धन्यवाद दिँदै एक्समा लेखेका थिए ।

त्यसको करिब एक घण्टापछि मस्कले उक्त पोस्टको जवाफ दिँदै आफ्नो कम्पनीको संलग्नताको बचाउ गरे । ‘स्टारसिल्ड प्रणाली अमेरिकी सरकारको स्वामित्व र नियन्त्रणमा छ । गति वा प्रयोगमा लगाइने कुनै पनि सीमाको निर्णय अमेरिकी सेना र अन्ततः अमेरिकी राष्ट्रपतिले गर्ने गर्दछन्,’ उनले लेखे ।

मस्कले थपे ‘नागरिक वा रक्षात्मक गतिविधिहरूका लागि हो र यसलाई आक्रामक सैन्य कारबाहीका लागि प्रयोग गर्न सकिँदैन, किनकि एउटा व्यावसायिक कम्पनीका लागि त्यसो गर्नु अनुपयुक्त हुनेछ ।’

अमेरिकी सरकारले भने यस विषयमा कुनै टिप्पणी गरेको छैन ।

बिहीबार बिहानै रुसी हमलामा डिनप्रोपेट्रोभस्क क्षेत्रमा दुई जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर ओलेक्सान्डर हान्झाले बताएका छन् ।

दुवै कम्पनी मस्कको स्पेसएक्सकै स्वामित्वमा भए पनि स्टारलिङ्क एक नागरिक सेवा हो, जसले विशेष गरी दुर्गम क्षेत्रहरूमा इन्टरनेट सेवा प्रदान गर्न तल्लो पृथ्वीको कक्षामा रहेका उपग्रहहरू प्रयोग गर्दछ । अर्कोतर्फ, स्टारसिल्ड सरकार र सेनाको प्रयोगका लागि डिजाइन गरिएको हो ।

मङ्गलबार राति प्रतिबन्ध लागू भएकै समयमा रुसले युक्रेनमा घातक आक्रमणहरू सुरु गरेको थियो, जसका कारण किभमा कैयौँ मानिसको मृत्यु भएको थियो । युक्रेनी सेनाले प्रयोग गर्ने सञ्चार तथा ऊर्जा पूर्वाधारहरूमा क्षति पुगेको थियो ।

जेलेन्स्कीले यो रुसको तर्फबाट भएको ‘सबैभन्दा ठूला आक्रमणहरू मध्ये एक’ भएको बताए । उनले ‘ड्रोनको ठूलो हिस्सा खसालिएको’ भए पनि “केही स्थानमा क्षति पुगेको‘ पुष्टि गरे ।

युक्रेनभरि कम्तीमा ६ लाख मानिसहरू बिजुलीविहीन बनेका थिए र स्थानीय बासिन्दाहरूले ड्रोनहरूले प्रहार गर्नुअघि कुनै चेतावनी नपाएको बताए । ‘यो कदम संयोग हुन सक्दैन र यो वर्तमान राजनीतिक स्थिति प्रणालीसँग सम्बन्धित छ भन्ने प्रस्ट छ,’ जेलेन्स्कीका सल्लाहकार सेर्ही बेस्क्रेस्तनोभले बुधबार बिहान टेलिग्राममा लेखेका छन् ।

युक्रेनले रुसी ऊर्जा पूर्वाधारहरूमा निरन्तर प्रहार गरिरहेका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेनप्रति झन्–झन् असन्तुष्ट बनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस