काठमाडौं, २८ असोज । भारतको बिहार राज्यको वैशाली जिल्लामा गङ्गा नदीमा एउटा डुङ्गा पल्टिँदा कम्तीमा १३ जना बालबालिकाको मृत्यु भएको छ ।
मङ्गलवार राति भएको दर्घटना भएको डुङ्गामा सवार गाउँलेहरू एउटा भोजमा सहभागी हुन अर्को गाउँ गइरहेका बीबीसीमा उल्लेख छ । सानो डुङ्गामा करिब २० जना सवार थिए ।
वैशाली जिल्लाकी जिल्लाधिकारी वर्षा सिंहका अनुसार सात जनालाई उद्धार गरी ’नालन्दा मेडिकल कलेज एन्ड हस्पिटल’ पठाइएको छ । डुङ्गामा सवार सबै बालबालिका १५ वर्ष अथवा सोभन्दा कम उमेरका भएका उनले बताइन् ।
उद्धार गरिएका केहीलाई थप उपचारका लागि बिहारको राजधानी पटना पठाइएको अधिकारीहरूले बताएका छन् ।
वस्तुस्थिति बुझ्न जिल्लाधिकारी सिंह स्थानीय अस्पताल पुग्दा त्यहाँ उपस्थित आक्रोशित मानिसहरूले जिल्ला प्रशासनविरुद्ध नाराबाजी गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी र बिहारका मुख्यमन्त्री सम्राट चौधरीले क्षतिपूर्तिको घोषणा गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिमृतक परिवारलाई २ लाख भारु सहयोग गरिने घोषणा गरेका छन्। प्रतिघाइतेलाई ५०,००० भारु उपलब्ध गराइने छ ।
‘बिहारको वैशालीमा डुङ्गा पल्टिँदा भएको मृत्युको घटना अत्यन्तै दुःखद छ । यो कठिन समयमा शोकसन्तप्त परिवारप्रति मेरो समवेदना छ । म घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु । स्थानीय प्रशासनले प्रभावित मानिसहरूलाई सहयोग प्रदान गरिरहेको छ,’ प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।