काठमाडौं, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारविरुद्ध सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपहरूबारे आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाएको छ ।
रास्वपाले जारी गरेको विज्ञप्तिअनुसार सुनारमाथि उठेका प्रश्न र आरोपहरूको सत्यतथ्य अन्वेषण गर्न केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिइएको छ ।
सञ्चारमाध्यममार्फत सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पु¥याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेन जस्ता गम्भीर र संवेदनशील विषयहरूप्रति ध्यानाकर्षण भएको रास्वपाले जनाएको छ ।
विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको बताउँदै रास्वपाले आफ्ना कुनै पनि सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोप, दुव्र्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा ’शून्य सहनशीलता’ को नीति रहेको स्पष्ट पारेको छ ।
अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका लागि छानबिन निष्कर्षमा नपुगुञ्जेलसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ ।
साथै, राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै रास्वपाले उक्त अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ। ’कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा दृढ रहँदै पार्टीले कानुन र विधानबमोजिम थप कदम चाल्ने र कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत काम गर्ने जो–कसैलाई राजनीतिक संरक्षण नदिइने कुरामा नागरिकलाई आश्वस्त पारेको छ ।
