काठमाडौं, २६ असोज । प्रधानमन्त्री बालेन शाहले प्रहरी निरीक्षकहरूलाई राजनीतिक दबाब, व्यक्तिगत स्वार्थ र अनुचित प्रभावबाट मुक्त रहेर निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।
सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान, प्रचलित कानुन र नियमको पालना गर्दै इमानदारीपूर्वक काम गर्न प्रहरी अधिकृतहरूलाई आग्रह गरेका हुन् ।
‘संविधान, प्रचलित कानून र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्न आग्रह गर्दछु,’ उनले भने ।
नेपाल प्रहरीको प्रतिष्ठा र जनविश्वास कायम राख्न इमानदारी, अनुशासन र नैतिकता महत्वपूर्ण हुने प्रधानमन्त्री शाहको भनाइ थियो । करिब १६ महिनाको तालिम पूरा गरेका नयाँ प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै उनले तालिमबाट हासिल गरेको ज्ञान र सीपलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न सुझाव दिए ।
प्रहरी अधिकृतहरूले आफ्नो कार्यसम्पादनमा निष्ठा, जवाफदेहिता र पेशागत मर्यादालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले संगठनको प्रोटोकलविपरीतका गतिविधि तथा अनुचित प्रभावबाट टाढा रहन निर्देशन दिए ।