काठमाडौं, १९ असोज । यस साताको कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० दशमलव ४८ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ५६६ दशमलव ७६ को विन्दुमा बन्द भएको छ । गत हप्ता शुक्रबार परिसूचक ११ दशमलव ९० अङ्कले घटेर २,५८७ को विन्दुमा कायम भएको थियो ।
आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । शुक्रबार ४ अर्ब २९ करोडको कारोबार भएकोमा आज ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ९० लाख ३ हजार ३८८ कित्ता शेयर ४४ हजार ७७७ पटक किनबेच भएको छ ।
सोमबार ३४२ धितोपत्र कारोबारमा आए, जसमध्ये १५३ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १०५ धितोपत्रको मूल्य बढेको छ भने १२ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये व्यापार समूहको उपसूचक सामान्य बढ्दा बाँकी सबै समूहको उपसूचक घटेको छ । यस दिन फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै १.१० प्रतिशतले घटेको छ । त्यस्तै, लगानी समूहको १.०७, होटल एण्ड टुरिजमको १.०५, हाइड्रोपावरको १.०४, उत्पादनमुलक समूहको ०.९८, जीवन बीमाको ०.८० र माइक्रोफाइनान्सको ०.६० प्रतिशतले उपसूचक घटेको छ ।
सोमबार सबैभन्दा धेरै शेयर मूल्य बढ्ने कम्पनीमा अधिकाशं डिबेन्चर रहेको छन् । आज त्रिशुली जलविद्युत् कम्पनीको शेयर मूल्य ५.८४ र सिन्धु विकास बैंकको ५.८० प्रतिशतले शेयर मूल्य घटेको छ ।