काठमाडौं, १९ भदौ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ ।
उद्धार तथा विपद् राहत प्रयासका लागि सो सहयोग गर्ने नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । यसमा नदीमा बनेका अवरोध (ब्यारियर) तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत समेटिने छ ।
चीनको मौसमसम्बन्धी अधिकारीहरूले चीन–नेपालको केरुङ –रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्वसूचना तथा प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।
विपद्लगत्तै चिनियाँ प्रशासनले नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको थियो ।