नेपालका बाढीपीडितका लागि बंगलादेशले १० लाख डलर सहयोग गर्ने

अनलाइनसमय |
१९ भदौ २०८३
नेपालका बाढीपीडितका लागि बंगलादेशले १० लाख डलर सहयोग गर्ने

काठमाडौं, १९ भदौ । भोटेकोसीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बंगलादेश सरकारले नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

बंगलादेशका प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराउने भएको हो । बाढीपहिरोपछि भइरहेको उद्धार, राहत, पुनःस्थापना तथा मानवीय सहयोगमा योगदान पुर्‍याउने उद्देश्यले बंगलादेशले आर्थिक सहयोग घोषणा गरेको जनाएको छ ।

बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले बिहीबार नेपालका लागि बंगलादेशस्थित राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी दिएका हुन् ।

नेपालमा भदौ १० मा आएको अचानकको बाढीबाट ठूलो जनधनको क्षति भएपछि बंगलादेशले नेपालप्रति ऐक्यबद्धता जनाउँदै आएको छ । प्रधानमन्त्री तारिक रहमानले यसअघि नै प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश पठाउँदै बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका थिए ।

बंगलादेशका राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीरले पनि विपद्का कारण भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालका राष्ट्रपति रामचन्द्र पौडेलप्रति समवेदना व्यक्त गरेका थिए ।

त्यस्तै, भदौ ११ मा बसेको बंगलादेशको राष्ट्रिय संसद्ले नेपालमा भएको विपद्प्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो । संसद्मा एक मिनेट मौनधारण गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो भने बेपत्ताप्रति पनि सहानुभूति व्यक्त गरिएको थियो । नेपाललाई आवश्यक सहयोग तत्काल उपलब्ध गराउन सरकारलाई आग्रहसमेत गरिएको थियो ।

भदौ ११ मै बंगलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन वार्ता गरेका थिए । वार्ताका क्रममा उनले नेपाललाई आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउन बंगलादेश तयार रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस