काठमाडौं, १७ भदौ । चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि पठाएको दोस्रो चरणको आपत्कालीन राहत सामग्री मंगलबार काठमाडौं आइपुगेको छ। राहत सामग्रीसँगै डीएनए पहिचानसम्बन्धी पाँच जना चिनियाँ विज्ञ पनि नेपाल आएका छन्। नेपालस्थित चिनियाँ दूतावासका अनुसार सेप्टेम्बर १ (मंगलवार) साँझ करिब ५ः३० बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२० ठूलो ढुवानी विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
उक्त विमानबाट नेपालका लागि चिनियाँ सहायता विज्ञ टोलीको तेस्रो समूहका रूपमा पाँच जना डीएनए पहिचान विज्ञ पनि काठमाडौं आइपुगेका छन्। राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए। उनीहरूले राहत सामग्री ग्रहण गर्नुका साथै नेपाल आएका चिनियाँ विज्ञ टोलीलाई स्वागत गरेका थिए।
चीनले नेपालको आवश्यकताका आधारमा तत्काल आवश्यक सामग्री पठाएको दूतावासले जनाएको छ। राहत सामग्रीमा ड्रोन, डीएनए परीक्षण उपकरण तथा अभिकर्मक, पानी शुद्धीकरण उपकरण र प्रकाशका उपकरणलगायत सामग्री छन्। नेपाल आइपुगेलगत्तै चिनियाँ डीएनए पहिचान विज्ञ टोली बाढी प्रभावित क्षेत्रमा खटिने दूतावासले जनाएको छ। टोलीले विपद् क्षेत्रमा नेपालका सम्बन्धित निकायलाई डीएनए परीक्षण तथा पहिचानसम्बन्धी काममा सहयोग गर्नेछ।
नेपालमा विनाशकारी बाढीपछि चीनले राहत सामग्री तथा प्राविधिक विज्ञ टोली पठाएर खोज, उद्धार र प्रभावितको पहिचानका काममा सहयोग गर्दै आएको छ।