काठमाडौं, १० भदौ । तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति काठमाडौँस्थित पाकिस्तानी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।
दूतावासले एक सन्देश जारी गर्दै यस कठिन र चुनौतीपूर्ण घडीमा नेपाल र नेपाली जनताको साथमै रहेको ऐक्यबद्धता जनाएको छ ।
दूतावासले जारी गरेको सन्देशमा भनिएको छ, ‘यस कठिन घडीमा पाकिस्तान दूतावास नेपाली जनताको साथमा छ । बाढीका कारण अमूल्य जीवनको क्षति हुनुका साथै ठूलो भौतिक विनाश भएकोमा हामी गहिरो दुःख व्यक्त गर्दर्छौं ।’
दूतावासले बाढीपहिरोका कारण प्रभावित, बेपत्ता र आफ्ना प्रियजन गुमाएर शोकमा परेका परिवारजनप्रति संवेदना व्यक्त गर्दै उनीहरूको धैर्यधारणका लागि प्रार्थना समेत गरेको छ ।
बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण (रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, मैलुङ र बेत्रावती) नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ । बाढीले विभिन्न जलविद्युत् आयोजना, सडक, पुल तथा रसुवा भन्सार यार्डमा राखिएका सवारीसाधनहरूमा व्यापक क्षति पु¥याएको छ । हाल नेपाली सेना तथा सुरक्षा निकायका हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा तीव्र रूपमा खोज, उद्धार तथा उपचार कार्य जारी छ ।