प्रतिनिधिसभाको बैठक स्थगित

अनलाइनसमय |
९ भदौ २०८३
प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं, ९ भदौ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक स्थगित गरेको छ । सिंहदरबारमा दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै बुधबारसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो ।

त्यसैगरी, मन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको थियो । बैठक स्थगित भएसँगै यी दुवै कार्यसूची अर्को बैठकमा सर्ने भएका छन् ।

आजकै बैठकमा कानुनमन्त्री गौतमले ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्ने कार्यक्रम पनि थियो ।

प्रतिनिधिसभाको बैठक स्थगित भएपछि उक्त सम्झौता पेस गर्ने कार्यसूचीसमेत अर्को बैठकका लागि सरेको संघीय संसद् सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस