काठमाडौं, ३१ साउन । इरानले उसका तीन जना लडाकु विमानचालकहरूलाई रिहा गर्न आह्वान गरेको छ । अमेरिका–ईरान युद्धको सुरुवातमा सैन्य कारबाहीका क्रममा दुईवटा फाइटर जेट हवाई रक्षा प्रणाली (एयर डिफेन्स) बाट खसालिएपछि कतारद्वारा नियन्त्रणमा लिइएका भनिएका आफ्ना तीन जना पाइलटहरूलाई रिहा गर्न माग गरेको हो ।
रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रमुखलाई पठाइएको पत्रमा इरानका ब्रिगेडियर जनरल मोहम्मद बाघेरजादेहले पाइलटहरू—जवाद सालेही, अब्दुल मजिद दस्तियान र इमरान बेहरोसियन—गत छ महिनादेखि बन्दी बनाइएको बताएका छन् ।
उनले युद्धको तेस्रो दिन अर्थात् सन् २०२६ मार्च २ मा भएको सोही कारबाहीमा मारिएका चौथो पाइलट मजिद काजेमीको शव भने फिर्ता भइसकेको बताए ।
कतारले इरानको यो दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै यी भ्रामक अभिव्यक्तिहरूबाट आश्चर्यचित्त भएको बताएको छ ।
जनरल बाघेरजादेहका अनुसार कतारी सैन्य बेसलाई लक्षित गरी गरिएको कम्ब्याट मिसनका क्रममा जेटहरू खसेपछि ती तीन पाइलटहरू विमानबाट बाहिर फालिएका थए र कतारले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
इरानी सञ्चारमाध्यमहरूद्वारा प्रकाशित आईसीआरसी प्रमुख मिर्जाना स्पोल्यारिचलाई सम्बोधन गरिएको पत्रमा उनले कतारमाथि ‘सबै अन्तर्राष्ट्रिय कानुन र नियम विपरीत यी युद्धबन्दीहरूको अक्षुण्ण अधिकारको उल्लङ्घन गरेको’ आरोप लगाएका छन् ।
पत्रमा ती तीन पाइलटहरूलाई आफ्ना परिवारसँग भेट्न वा सम्पर्क गर्न नदिइएको दाबी पनि गरिएको छ ।
कतारका परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद मोहम्मद अल अन्साारीले पाइलटहरूले कतारी हवाई क्षेत्रको उल्लङ्घन गरेपछि उनीहरूसँग सम्पर्कको प्रयास गरिएको तर कुनै जवाफ नआएको बताएका छन् ।
उनले ट्विटरमा जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘अन्तर्राष्ट्रिय कानुन अनुसार हाम्रो भूभागको रक्षाका लागि आवश्यक कदम चालिएको थियो ।
अल अन्सारीले कतारका खोज तथा उद्धार टोलीले पाइलटहरूका अवशेषको खोजीमा आफ्नो कर्तव्य पूर्ण रूपमा निभाएको बताएका छन् ।
कतारले फेला परेका एक पाइलटको अवशेष हस्तान्तरण गर्न समन्वयका लागि इरानसँग सम्पर्क गरेको र खोज तथा उद्धार कारबाहीको विवरण समीक्षा गर्न दिइएको निमन्त्रणाको इरानले अहिलेसम्म जवाफ नदिएको पनि उनले बताए ।