जापानमा भीषण वर्षा : ४ जनाको मृत्यु, हजारौँ यात्रु अलपत्र

अनलाइनसमय |
२९ साउन २०८३
जापानमा भीषण वर्षा : ४ जनाको मृत्यु, हजारौँ यात्रु अलपत्र

काठमाडौं, २९ साउन । पूर्वी जापानमा भारी वर्षापछि बाढी र पहिरोका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने हजारौँ यात्रु नरिता विमानस्थलमा रातभर अलपत्र परेका छन् ।

जापानको मुख्य पर्यटकीय तथा यात्राको समय मानिने बौद्ध धर्मावलम्बीहरूको ‘बोन’ पर्वको सङ्घारमा चिबाका केही क्षेत्रमा २४ घण्टाभित्र ३६० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको छ। अविरल वर्षाका कारण सडक तथा रेलमार्गहरू पूर्ण रूपमा जलमग्न भएका छन् ।

चिबा प्रान्तीय आपत्कालीन व्यवस्थापन कार्यालयका अनुसार जलमग्न सडकमा तैरिरहेको अवस्थामा ६० देखि ७० वर्ष उमेर समूहका एक पुरुष र डुबेको कारभित्र ६६ वर्षीया एक महिला मृत अवस्थामा भेटिएका छन् । त्यसैगरी, सडकमा अचेत अवस्थामा फेला परेका अर्का एक पुरुष र पहिचान नखुलेका चौथो व्यक्तिको पनि मृत्यु भएको छ । घटनामा अन्य एक जनाको मृत्यु भएको आशङ्का गरिएको छ भने एक जना बेपत्ता छन् ।

विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि जापानी सेना (ग्राउन्ड सेल्फ–डिफेन्स फोर्स) परिचालन गरिएको छ । घटनाबारे टिप्पणी गर्दै चिबाका गभर्नर तोशिहितो कुमागाईले भने, “यो निकै असामान्य र अप्रत्याशित स्थिति हो । मैले आफ्नो कार्यकालमा धेरै विपद्को सामना गरेको छु, तर यस्तो भयावह स्थिति पहिलोपटक देखिरहेको छु ।”
टोकियो इलेक्ट्रिक पावरका अनुसार शुक्रबार बिहानसम्म २२ हजारभन्दा बढी घरधुरीमा विद्युत सेवा अवरुद्ध भएको छ । करिब ८० घरमा बाढी पसेको छ भने २ लाख ३० हजारभन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा सर्न सूचना जारी गरिएको छ ।

उद्धार टोलीले बाढीका कारण सोगो रेल स्टेसनमा घण्टौँदेखि अलपत्र परेका करिब ४ हजार यात्रुको उद्धार गरेको छ । यता रेल सेवा ठप्प भएपछि टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँ यात्रुहरू रातभर थुनिएका थिए ।

शुक्रबार बिहानदेखि रेल सेवा केही ढिलाइका साथ आंशिक रूपमा सञ्चालनमा आएको छ भने नारिता विमानस्थलको उडान सेवा भने सामान्य रहेको छ । पर्व मनाएर फर्कने सयौँ सर्वसाधारणले रातभर चिबा प्रान्तीय सरकारी भवनमा आश्रय लिएका थिए ।

जापान मौसम विज्ञान एजेन्सीले वर्षा केही कम भएसँगै मुख्य चेतावनीको स्तर घटाएको भए पनि दिनभर थप वर्षा हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस