काठमाडौं, ११ साउन । नागढुंगा सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन् । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ ।
आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन । सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सञ्चालन गर्न दिइनेछ ।
केही दिन सुरुङमार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारीसाधनलाई सञ्चालन हुन दिइनेछ । सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारीसाधनलाई सञ्चालन हुन दिइने बताइएको छ । परीक्षण अवधिभर सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले कुनै शुल्क तिर्नुपर्ने छैन ।
कुल दुई हजार ६८८ मिटर लामो सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ । काठमाडौँ प्रवेश गर्दा कार, भ्यान, पिकअप, ट्याक्टर र माइक्रो बसजस्ता हलुका सवारीका लागि ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ । त्यस्तै, मिनी बस र मिनी ट्रकका लागि प्रवेश शुल्क ११५ र बाहिरिँदा ८० रुपैयाँ कायम गरिएको छ । ठूला बस र सिंगल रियर एक्सल भएका ट्रकलाई काठमाडौं प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तोकिएको छ ।
भारी उपकरण तथा मल्टी एक्सल ट्रकका लागि सुरुङमार्ग हुँदै काठमाडौँ प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ दस्तुर तिर्नुपर्नेछ ।
त्यस्तै, पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ बोकेका सवारीसाधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ ।
सो आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङमार्ग छन् । मुख्य सुरुङमा सवारीसाधन सञ्चालन हुनेछ भने उद्धारकार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ । सुरुङमार्गको निर्माण जापानको हाज्मा एन्डो कर्पोरेसनले गरेको हो ।
सुरुङमार्ग निर्माणमा जापान सरकारको २१ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब बराबरको लगानी रहेको छ । सुरुङमार्ग सञ्चालन, व्यवस्थापनका लागि व्यवसायी छनोट भई परिचालित भइसकेको छ । सुरक्षाकर्मी तथा अन्य प्राविधिक कर्मचारीले नियमित अनुगमन तथा निरीक्षण गरिरहेका छन् ।
सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले विद्युतीय माध्यमबाट भुक्तानी गर्नेगरी आवश्यक प्रबन्ध गरिएको छ । निर्माण सुरु गर्दा ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोराना महामारी तथा अन्य केही जटिलताका कारण आयोजनाको समय लम्बिन पुगेको थियो ।
निर्माणमा १६ अर्ब, मुआब्जामा ६ अर्ब र पटक पटक काम रोकिँदा भएको मूल्यवृद्धिले २ अर्ब ५० करोड सुरुङमार्गमा खर्च भएको छ ।