एक वर्षमा थपियो पौने ४ खर्ब सार्वजनिक ऋण, कुल दायित्व ३० खर्ब नजिक

अनलाइनसमय |
७ साउन २०८३
एक वर्षमा थपियो पौने ४ खर्ब सार्वजनिक ऋण, कुल दायित्व ३० खर्ब नजिक

काठमाडौं, ७ साउन । गत आर्थिक वर्ष २०८२/८३ को एक वर्ष अवधिमा नेपालको कुल सार्वजनिक ऋण पौने ४ खर्ब रुपैयाँ थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको असार मसान्तसम्मको प्रतिवेदन अनुसार १२ महिनामा ३ खर्ब ८६ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । यससँगै गत आवको असार मान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा यस्तो ऋण ४५.०७ प्रतिशत रहेको छ ।

हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब ७१ करोड (जीडीपीको २०.८४ प्रतिशत) र बाह्य १५ खर्ब ९९ अर्ब रुपैयाँ (जीडीपीको २४.२३ प्रतिशत) रहेको छ ।

सरकारले गत आवमा मंसिरसम्ममा १ खर्ब ७५ अर्ब १२ करोड ऋण प्राप्त गरेको छ, जुन वार्षिक लक्ष्यको २९ दशमलव ४० प्रतिशत हो । सरकारले यस वर्षका लागि ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । आर्थिक वर्षको सुरु (२०८२ साउन १) मा आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब र बाह्य ऋण १४ खर्ब ५ अर्ब रुपैयाँ थियो ।

गत आर्थिक वर्षमा थपिएको कुल ऋण दायित्वमा विदेशी विनिमय दरमा भएको परिवर्तन (अमेरिकी डलर लगायत विदेशी मुद्रा बलियो हुनु) को ठूलो असर देखिएको छ । वास्तविक खुद ऋण परिचालन (१ खर्ब ३३ अर्ब ८५ करोड (४४.४९ प्रतिशत ) मात्र भएको छ भने बाँकी ५५.५१ प्रतिशत (१ खर्ब ६७ अर्ब) दायित्व भने विदेशी विनिमयमा बलियो हुदा बढेको हो ।

सरकारले आव २०८२/८३ मा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण प्राप्ती गर्ने लक्ष्य राखेकोमा असार मसान्तसम्म ४ खर्ब ४७ अर्ब १८ करोड (७५.०७ प्रतिशत) मात्र प्राप्त गरेको छ । आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब प्राप्ती गर्न लक्ष्य रहेकोमा ३ खर्ब ५८ अर्ब ६६ करोड प्राप्त भएको छ । त्यस्तै, वाह्य ऋण २ खर्ब ३३ अर्बको लक्ष्य राखिएकोमा ८८ अर्ब ५० करोड मात्र प्राप्त भएको तथ्याङ्कमा उल्लेख छ ।

साँवा तथा ब्याज भुक्तानीमा ३. ८६ खर्ब बजेट खर्च
समीक्षा अवधिमा सरकारले सावाँ र ब्याज भुक्तानी (ऋण सेवा खर्च) का लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ९३ दशमलव ९७ प्रतिशत अर्थात् ३ खर्ब ८६ अर्ब २२ करोड खर्च गरेको छ । सो अवधिमा ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ साँवा भुक्तानी र ७३ अर्ब ८२ करोड ब्याज भुक्तानी गरेको छ । जसमा आन्तरिक ऋणतर्फ ३ खर्ब ११ अर्ब ९३ करोड बाह्य ऋणतर्फ ७४ अर्ब २८ करोड भुक्तानी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस