काठमाडौं, ५ साउन । सरकारले वस्तु तथा सेवा खरिद गर्दा बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न दैनिक र पाक्षिक नगद उपहार योजना ल्याएको छ । अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो । यो कार्यक्रम नेपाल सरकारको स्वीकृत बजेटमार्फत् सञ्चालन हुने छ ।
नयाँ व्यवस्थाअनुसार अब बिल लिने उपभोक्तामध्ये हरेक दिन एक जनाले एक लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई जनाले जनही १० लाख रुपैयाँको बम्पर उपहार पाउनेछन् ।
आन्तरिक राजस्व विभागमार्फत सञ्चालन हुने यस कार्यक्रमले सर्वसाधारण उपभोक्तालाई बिल मागेर किनमेल गर्न प्रेरित गर्ने र बजारको वास्तविक कारोबार अभिलेखीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ ।
कार्यविधिअनुसार आन्तरिक राजस्व विभागले स्वचालित प्रणाली मार्फत भाग्यशाली विजेता छनोट गर्नेछ । प्रणालीमार्फत प्रत्येक दिनका लागि एक जना विजेता छनोट गरिनेछ, जसले एक लाख ३३ हजार ३३४ नगद उपहार पाउनेछन् । त्यस्तै, हरेक १५ दिनमा (प्रत्येक महिनाको १ र १६ गते) एक जना बम्पर विजेता छनोट गरिनेछ, जसले दश लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । तर, आयकर ऐन, २०५८ को दफा ८८क.बमोजिम प्राप्त हुने उपहारको रकममा २५ प्रतिशत आकस्मिक लाभ कर कट्टी गरिने कार्यविधिमा उल्लेख छ ।
कसरी सहभागी हुने ?
स्वः प्रयोजनका लागि नेपालभित्र एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने व्यक्ति (उपभोक्ता) कार्यक्रममा सहभागी हुन योग्य हुनेछन् । भुक्तानी सेवा प्रदायकमार्फत क्युआर वा डिजिटल भुक्तानी गरी खरिद गर्दा सो कारोबार स्वतः प्रणालीमा समावेश हुनेछ । त्यस्तै, नगद भुक्तानी गरी बिल लिने उपभोक्ताले विभागको वेब पोर्टल वा मोबाइल एपमा गई बिल नम्बर, बिक्रेताको स्थायी लेखा नम्बर, बिल जारी मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ ।
सबै प्रकारका खरिद बिल उपहार कार्यक्रममा मान्य हुने छैनन् । व्यावसायिक प्रयोजनका लागि गरिएका खरिद बिलहरू, सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी भएका बिजक, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी तथा ढुवानीका साधन र हवाई टिकट खरिद बापतका बिलहरू, स्थायी लेखा नम्बर नलिएका व्यक्ति वा फर्मबाट खरिद गरिएका बिल अयोग्य हुनेछन् ।
प्रत्येक महिनाको १ गते र १६ गते भाग्यशाली विजेताहरूको छनोट गरी उनीहरूको नाम विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ । साथै, विजेतालाई मोबाइल र इमेलमार्फत समेत सूचित गरिनेछ । उपहार दाबीका लागि विजेताले घोषणा भएको १५ दिनभित्र नजिकैको आन्तरिक राजस्व कार्यालयमा सक्कल बिजक, परिचयपत्र (नागरिकता/राष्ट्रिय परिचयपत्र/राहदानी/सवारी अनुमतिपत्र), बैंक खाता विवरण र प्यान नम्बरसहित निवेदन दिनुपर्नेछ । निवेदन परेको १० दिनभित्र छानबिन गरी रकम सोझै विजेताको बैंक खातामा जम्मा गरिनेछ । तोकिएको अवधिभित्र दाबी गर्न नआएमा सो उपहार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने प्रावधान कार्यविधिमा छ ।