२५औँ वर्षमा साना किसान विकास लघुवित्त : १० लाख किसान परिवारलाई सेवा

अनलाइनसमय |
२३ असार २०८३
२५औँ वर्षमा साना किसान विकास लघुवित्त : १० लाख किसान परिवारलाई सेवा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको २५औँ वर्ष पूरा गरेको अवसरमा ग्रामीण अर्थतन्त्रको सुदृढीकरण, कृषि व्यवसायको प्रवद्र्धन र गरिबी न्यूनीकरणमा उल्लेखनीय योगदान दिएको जनाएको छ ।

संस्थाका अनुसार हाल देशभरका ७७ जिल्लाका ५४६ भन्दा बढी स्थानीय तहमा रहेका एक हजार ४८५ साझेदार सहकारी संस्थामार्फत करिब १० लाख किसान परिवारले लघुवित्त सेवा प्राप्त गरिरहेका छन् । सेवाग्राहीमध्ये ८२ प्रतिशत महिला रहेका छन् भने ११ प्रतिशत दलित, ३९ प्रतिशत जनजाति र ५० प्रतिशत अन्य समुदायका सदस्य रहेका छन् ।

संस्थाका अनुसार यस कार्यक्रमबाट वार्षिक करिब चार अर्ब ८० करोड रुपैयाँ बराबरको मासु, दुग्धजन्य पदार्थ तथा तरकारी उत्पादन भइरहेको छ । हालसम्म कुल उत्पादनको मूल्य ७२ अर्ब रुपैयाँभन्दा बढी पुगेको अनुमान गरिएको छ ।

लघुवित्तले ऋण प्रवाहसँगै पशुधन सुरक्षण, कृषि वित्त, वित्तीय साक्षरता, क्षमता अभिवृद्धि, सुधारिएको चुलो कार्यक्रम, उद्यमशीलता विकास तथा युवालाई लक्षित विभिन्न तालिम सञ्चालन गर्दै आएको जनाएको छ । आइएफएडी, सीप र समृद्धि तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र लगायतका निकायसँगको सहकार्यमा विभिन्न परियोजना पनि कार्यान्वयन भइरहेका छन् ।

युवालाई आधुनिक कृषि प्रविधिमा दक्ष बनाउन इजरायलमा तालिम कार्यक्रम सञ्चालन गरिएको र हालसम्म तीन हजार १६१ युवाले प्रशिक्षण पूरा गरेको संस्थाले जनाएको छ । कोरोना महामारीपछि भने उक्त कार्यक्रम नियमित रूपमा सञ्चालन हुन नसकेको उल्लेख गरिएको छ ।

एशियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको सहकार्यमा सञ्चालित ग्रामीण उद्यम परियोजनाअन्तर्गत कृषि उत्पादन, प्रशोधन र बजारीकरणमा केन्द्रित एक हजार २१६ उद्यम सञ्चालनमा रहेका छन् ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टले साना किसान विकास लघुवित्तलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्नुपर्ने बताए । वास्तविक किसानसम्म पुगेर प्रभावकारी सेवा प्रदान गर्न सफल भएको उल्लेख गर्दै उनले संस्थाको क्षमता र प्रभावलाई थप विस्तार गर्नुपर्ने धारणा राखे ।

ग्रामीण आर्थिक गतिविधि विस्तार, गरिबी न्यूनीकरण तथा साना किसानको आर्थिक सशक्तीकरणमा संस्थाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै साना किसानको उत्थानबाट मात्रै दिगो आर्थिक तथा सामाजिक रूपान्तरण सम्भव हुने उनले बताए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले कृषि उत्पादन वृद्धि, किसानको आयस्तर सुधार र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणका लागि साना किसान विकास अभियानलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उत्कृष्ट शाखा कार्यालयहरूलाई सम्मान पनि गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस