काठमाडौं, १९ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा क्षेत्रमा देखिएको दलीयकरण अन्त्य गर्नुपर्ने बताएका छन् । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले शिक्षामा राजनीतिक हस्तक्षेपभन्दा पनि दलीयकरणले गम्भीर समस्या सिर्जना गरेको उल्लेख गरे ।
थापाले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक नियुक्ति तथा शिक्षक छनोटमा समेत दलगत स्वार्थ हाबी भएको भन्दै यस्तो प्रवृत्तिबाट बाहिर निस्कन आवश्यक रहेको बताए ।
उनले भने, ‘हामी शिक्षामा राजनीति भयो भन्छौँ, तर वास्तविक समस्या राजनीति होइन, दलीयकरण हो, व्यवस्थापन समितिमा आफ्नै मान्छे, प्रधानाध्यापक पनि आफ्नै मान्छे र शिक्षक पनि आफ्नै हुनुपर्छ भन्ने सोचले शिक्षा क्षेत्रलाई कमजोर बनाएको छ,अब यस्तो दलीयकरणको अन्त्य हुनुपर्छ ।’
सभापति थापाले विभिन्न राजनीतिक दलसँग आबद्ध शिक्षकहरूले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरेमा मुलुकको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
उनले नेपाली कांग्रेस निकट शिक्षकहरूलाई विद्यालयमा आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गर्दै त्यसैलाई पार्टीप्रतिको सबैभन्दा ठूलो योगदानका रूपमा व्याख्या गरे ।