काठमाडौं, १८ असार । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन र संयन्त्रलाई कुनै पनि राजनीतिक उद्देश्यका लागि प्रयोग नगरेको बताएका छन् । उनले यस्तो विषयलाई राजनीतिक प्रतिशोध वा स्वार्थका लागि प्रयोग गरिए नेपाल वित्तीय कार्यदल (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिरिन कठिन हुने चेतावनी दिए ।
प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणजस्तो संवेदनशील विषयलाई राजनीतिक हतियारका रूपमा प्रयोग गर्न नहुने बताए । उनले नेपाल ग्रे लिस्टबाट बाहिरिने लक्ष्यमा रहेको उल्लेख गर्दै त्यसका लागि कानुनी प्रक्रिया निष्पक्ष र व्यावसायिक हुनुपर्नेमा जोड दिए ।
उनले सरकारले पूर्वाग्रह राखेर कसैमाथि बदला लिन वा राजनीतिक रूपमा दबाब सिर्जना गर्न सम्पत्ति शुद्धीकरणसम्बन्धी संयन्त्रको प्रयोग नगरेको बताए । विगतमा भने यसलाई राजनीतिक प्रतिशोधको माध्यम बनाइएको अनुभव रहेको उनको भनाइ थियो ।
मन्त्री वाग्लेका अनुसार पहिले सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत रहँदा राजनीतिक दबाबका आधारमा उजुरी संकलन गर्ने, निश्चित व्यक्ति वा नेतामाथि केन्द्रित हुने तथा राज्य संयन्त्रको दुरुपयोग गर्ने प्रवृत्ति देखिएको थियो ।