काठमाडौं, १७ असार । सरकारले विधि विज्ञान (फोरेन्सिक साइन्स) क्षेत्रमा विशेषज्ञका रूपमा काम गर्ने जनशक्तिका लागि स्नातकोत्तर (मास्टर्स) तहको शैक्षिक योग्यता अनिवार्य बनाउन प्रस्ताव गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको छलफलका क्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले यस्तो प्रस्ताव प्रस्तुत गरेका हुन् ।
मन्त्री पुनले फोरेन्सिक विज्ञानजस्तो संवेदनशील क्षेत्रमा न्यूनतम स्नातक तहको योग्यताले मात्र पर्याप्त नहुने बताए । विगतमा स्नातक तहलाई नै उच्च शैक्षिक उपलब्धिका रूपमा हेरिए पनि प्रविधिको तीव्र विकाससँगै अहिले विशेषज्ञका लागि स्नातकोत्तर तह अपरिहार्य भइसकेको उनको भनाइ थियो ।
उनले दक्ष जनशक्तिको अभाव देखाउँदै योग्यतामा सम्झौता गर्न नहुने बताए । आवश्यक परे सरकारले अध्ययन, अनुसन्धान तथा तालिमको व्यवस्था गरी नयाँ विशेषज्ञ जनशक्ति उत्पादन गर्नुपर्ने उनको धारणा थियो ।