ल्यापटप खरिदमा भ्रष्टाचार : इन्डोनेसियाका पूर्व शिक्षामन्त्रीलाई १० वर्षको कैद सजाय

अनलाइनसमय |
१६ असार २०८३
ल्यापटप खरिदमा भ्रष्टाचार : इन्डोनेसियाका पूर्व शिक्षामन्त्रीलाई १० वर्षको कैद सजाय

काठमाडौं, १६ असार । इन्डोनेसियाको एक अदालतले पूर्व शिक्षामन्त्री तथा ‘सुपर–एप’ गोजेकका सह–संस्थापक नादिम माकारिमलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

४१ वर्षीय नादिममाथि मन्त्री छँदा विद्यालयहरूका लागि ल्यापटप खरिद गर्ने सरकारी सम्झौतामा हेरफेर गरेर भ्रष्टाचार गरेको आरोप लागेको छ । अभियोजकहरूका अनुसार उनले नियम परिमार्जन गरेर गुगलको ‘क्रोमबुक’ मात्रै छानिने वातावरण बनाएका थिए, जसबाट राज्यलाई १२ करोड ५० लाख डलर नोक्सान भएको र उनले व्यक्तिगत रूपमा करिब ४ करोड ६० लाख डलर फाइदा लिएका थिए ।

उनले भने आफू निर्दोष रहेको दाबी गरेका छन् । नादिम सन् २०१९ मा गोजेक छोडेर तत्कालीन राष्ट्रपति जोको विडोडोको सरकारमा सामेल भएका थिए र सन् २०२४ सम्म शिक्षामन्त्री थिए ।

नादिमका समर्थक र गोजेकका सयौँ चालकहरूले अदालत बाहिर उनको समर्थनमा प्रदर्शन गरेका छन् ।

नादिमले यसै महिनाको सुरुमा अदालतमा सरकारको सेवा गर्नका लागि आफूले धेरै कुरा त्यागेको तर बदलामा फलामको डन्डी (जेल) पाएको बताएका थिए ।

यो मुद्दा सन् २०२१ देखि २०२२ सम्म इन्डोनेसियाका विद्यालयहरूका लागि शिक्षा मन्त्रालयले गरेको क्रोमबुक ल्यापटप खरिदमा केन्द्रित छ । नादिमले खरिद प्रक्रियामा गोजेकको लगानीकर्ता समेत रहेको गुगललाई पक्षपात गरेको अभियोजकहरूको आरोप छ ।

गत मे महिनामा भएको सुनुवाइमा अभियोजकहरूले नादिमको कदमले सरकारको भ्रष्टाचार विरोधी प्रतिवद्धताको उल्लंघन गरेको र शैक्षिक प्रणालीलाई हानि पु¥याएको बताएका थिए । उनीहरूका अनुसार मन्त्रालयले सन् २०१८ मै यी कम्प्युटरहरू चलाउन इन्टरनेट जडान आवश्यक पर्ने र इन्डोनेसियाका दुर्गम क्षेत्रहरू जहाँ इन्टरनेटको पहुँच कठिन छ, त्यहाँका लागि यो अनुपयुक्त हुने निष्कर्ष निकालेको भए तापनि क्रोमबुकहरू खरिद गरिएको थियो ।

सन् २०२० मा नादिमले गुगलका प्रतिनिधिहरूसँग भेट गरेपछि मन्त्रालयले यो खरिद प्रक्रिया अघि बढाएको अभियोजकहरूले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस