काठमाडौं, १६ असार । चार पटकको विश्व च्याम्पियन जर्मनीलाई पराजित गर्दै पहिलो पटक विश्वकपको अन्तिम १६ मा स्थान बनाएपछि पाराग्वे उत्सवमय बनेको छ । ऐतिहासिक सफलताको खुसी साट्न पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले मंगलबार देशभर सार्वजनिक बिदा घोषणा गरेका छन् ।
सोमबार राति सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म दुवै टोली १–१ गोलको बराबरीमा रहेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा पाराग्वेले ४–३ को जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
जितपछि राष्ट्रपति पेनाले सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक बिदासम्बन्धी निर्णयमा हस्ताक्षर गरिरहेको तस्वीर साझा गर्दै यो सफलता सम्पूर्ण राष्ट्रको गर्वको विषय भएको बताएका छन् । उनले लेखेका छन्, ‘आज सम्पूर्ण देश उत्सवमा छ, यो जितले साहस, विश्वास र कहिल्यै हार नमान्ने पाराग्वेली जनताको भावनालाई झल्काएको छ ।’
सरकारी आदेशमा पनि पाराग्वेको यो सफलता खेलकुदको सीमाभन्दा बाहिर राष्ट्रिय गौरवसँग जोडिएको उल्लेख गरिएको छ ।