काठमाडौं, १५ असार । सभामुख डोलप्रसाद अर्याल (डीपी) ले नेपालमा निर्माण हुने कानुन र सांसदहरूको कार्यशैलीलाई अन्तर्राष्ट्रिय समुदायले समेत चासोका साथ हेरिरहेको बताएका छन् ।
सोमबार संघीय संसद् सचिवालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले नेपालले कस्ता कानुन बनाइरहेको छ, प्रतिनिधिसभाले कस्तो भूमिका निर्वाह गरिरहेको छ र सांसदहरू आधुनिक प्रविधिअनुकूल आफूलाई कसरी विकास गरिरहेका छन् भन्ने विषय विश्व समुदायको समेत निगरानीमा रहेको बताए ।
उनका अनुसार नेपाली नागरिक मात्र नभई विदेशमा रहेका विद्वान नेपालीहरूले पनि संसद्का गतिविधिलाई निरन्तर अवलोकन गरिरहेका छन् । त्यसैले सांसदहरूले बनाउने कानुन र गर्ने कामप्रति सबै समान रूपमा जिम्मेवार हुनुपर्ने उनले उल्लेख गरे ।
सभामुख अर्यालले विगतका सकारात्मक अभ्यासलाई थप परिष्कृत गर्दै अध्ययनशील र जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए । साथै सार्वजनिक जीवनमा प्रवेश गरेपछि सांसदहरूले आफ्नो आचरण र व्यवहारको नियमित आत्मसमीक्षा गर्नुपर्नेमा पनि उनले जोड दिए ।