काठमाडौं, १५ असार । राष्ट्रिय सभामा नेपाली कांग्रेसले सरकारले भूमिहीन र सुकुमबासीप्रति असंवेदनशील व्यवहार गरेको आरोप लगाएको छ ।
सोमबार बसेको बैठकमा कांग्रेसकी सांसद दुर्गा गुरुङले वैकल्पिक व्यवस्था नगरी डोजर लगाएर घर भत्काउनु लोकतान्त्रिक मूल्यविपरीत भएको बताइन् । संविधानले आवासको हक सुनिश्चित गरे पनि सरकारले संवाद र पुनरस्थापनाबिनै उठिबास गराएको उनको भनाइ थियो ।
उनले एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिका बढी प्रभावित भएको उल्लेख गर्दै घर भत्किँदा बालबालिकाको शिक्षा र स्वास्थ्यमा गम्भीर असर परेको बताइन् ।
सांसद गुरुङले भूमिहीन र सुकुमबासीलाई अपराधीजस्तो व्यवहार नगर्न, संवाद र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्न सरकारसँग माग गरिन् । साथै वास्तविक भूमिहीनको पहिचान, जग्गा व्यवस्थापन, पीडितलाई न्याय र दोषीमाथि निष्पक्ष छानबिन गर्न पनि आग्रह गरिन् ।