एघार महिनामा करिब १९ खर्बको वस्तु आयात, सवा १६ खर्ब बढिको व्यापार घाटा

अनलाइनसमय |
८ असार २०८३
एघार महिनामा करिब १९ खर्बको वस्तु आयात, सवा १६ खर्ब बढिको व्यापार घाटा

काठमाडौं, ८ असार । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को एघार महिनामा नेपालले करिब १९ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले जेठसम्ममा १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको १५ दशमलव १६ प्रतिशतले बढी हो । गत आवको जेठसम्ममा १६ खर्ब ४४ अर्ब ७९ करोडको व्यापार भएको थियो ।

त्यस्तै, चालू आवको एघार महिनामा नेपालबाट २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को तुलनामा १२ दशमलव २८ प्रतिशतले बढी हो ।

नेपालले चालू आवको जेठ मसान्तसम्ममा २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १४ दशमलव ७८ प्रतिशतले बढी हो । गत आवको एघार महिनामा नेपालले १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँको व्यापार गरेको थियो ।

चालू आवको जेठसम्ममा सवा १६ खर्बभन्दा बढीको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा नेपालले १५ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ, जुन गत आवको जेठसम्मको तुलनामा १५ दशमलव ६७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा नेपाल वैदेशिक व्यापारमा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँको घाटामा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस