काठमाडौँ, २ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत महामहिम एच.ई. मिस्टर ताइयोङ पार्कबीच शिष्टाचार भेटवार्ता भएको छ
भेटका क्रममा नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा दुई देशबीच भइरहेको द्विपक्षीय सहकार्यका विविध विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ ।
विशेष गरी स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता, स्वास्थ्य जनशक्तिको क्षमता विकास, स्वास्थ्य पूर्वाधार सुदृढीकरण, गुणस्तरीय स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य पर्यटन प्रवद्र्धन तथा जडीबुटी एवं औषधि उत्पादनका क्षेत्रमा आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी र गतिलो बनाउने विषयमा दुई पक्षबीच विचार आदानप्रदान भएको मन्त्रालउले जनाएको छ ।
त्यस अवसरमा मन्त्री मेहताले कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षा र उनीहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिन राजदूत पार्कसँग आग्रह गरे ।
जवाफमा महामहिम राजदूत पार्कले नेपाल सरकारका प्राथमिकताका क्षेत्रहरूमा गणतन्त्र कोरिया सरकार निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । साथै, उनले आगामी दिनमा दुई देशबीचको सहकार्य अझ सुदृढ, प्रगाढ र परिणाममुखी बन्ने विश्वास समेत व्यक्त गरे ।