काठमाडौं, १ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग जर्मनी सरकारका उच्चपदस्थ प्रतिनिधि मण्डलले औपचारिक शिष्टाचार भेट गरेको छ ।
जर्मनीको आर्थिक सहयोग तथा विकास मन्त्रालयअन्तर्गत दक्षिण एसिया महाशाखा तथा विकास प्रमुख बार्बरा सेफर र नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले भेट गरेका हुन् ।

भेटमा जर्मनीका विकास साझेदार संस्था केएफडब्ल्यू, जिआइजेड तथा पिटिबी नेपालका प्रमुख एवं प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।
भेटवार्ताका क्रममा नेपाल–जर्मनीबिच द्विपक्षीय सम्बन्ध, विकास सहकार्य तथा स्वास्थ्य क्षेत्रका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवा सुदृढीकरण तथा विभिन्न विकास परियोजनामार्फत जर्मन सरकारले नेपाललाई पु¥याउँदै आएको सहयोगबारे छलफल गरिएको मन्त्रालयले जनाएको छ ।
जर्मन प्रतिनिधिमण्डलले नेपालको विकास प्रयासप्रति आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्दै स्वास्थ्यसहित सरकारका प्राथमिकताका काममा सहयोग, साझेदारी र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
