काठमाडौं, ३१ जेठ । भारतीय वायुसेनाको एएन–३२ परिवहन विमान असमको जोरहाट एयर फोर्स स्टेसनमा दुर्घटनाग्रस्त हुँदा पाँच सैनिकको ज्यान गएको छ । शनिबार अवतरणका क्रममा विमान दुर्घटनामा परेको र त्यसपछि आगलागी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतीय वायुसेनाले दुर्घटनाको पुष्टि गर्दै घटनाको कारण पत्ता लगाउन विस्तृत छानबिन सुरु गरिएको जनाएको छ । प्रारम्भिक विवरणअनुसार विमान अवतरण गर्ने क्रममा नियन्त्रण गुम्दा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको भए पनि वास्तविक कारण अझै खुल्न सकेको छैन ।
इन्डियन एक्सप्रेसका अनुसार दुर्घटनाको अनुसन्धानका लागि वायुसेनाका अधिकारीहरूको टोली परिचालन गरिएको छ । टोलीले विमानको प्राविधिक अवस्था, मौसमीय परिस्थिति तथा अन्य सम्भावित कारणबारे अध्ययन गरिरहेको छ ।
दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिस आलमको मृत्यु भएको भारतीय वायुसेनाले जनाएको छ।
दुर्घटनाग्रस्त एएन–३२ भारतीय वायुसेनाले लामो समयदेखि प्रयोग गर्दै आएको दुई इन्जिनयुक्त टर्बोप्रप परिवहन विमान हो । यो विमान विशेषगरी कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसममा सञ्चालन गर्न सक्ने गरी सोभियत संघमा डिजाइन गरिएको थियो ।
उच्च हिमाली क्षेत्र, अत्यधिक तापक्रम भएका स्थान तथा दुर्गम एयरफिल्डमा समेत प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने क्षमताका कारण एएन–३२ भारतीय वायुसेनाको प्रमुख ढुवानी विमानका रूपमा परिचित छ। हाल भारतीय वायुसेनासँग यस्ता करिब एक सय विमान रहेको बताइन्छ ।