काठमाडौं, ३१ जेठ । नेपाली चिया निर्यातमा भारतले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगीहरूले १ असार (भोलि) देखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।
सूर्योदय नगरपालिका क्षेत्रका ५३ वटा चिया कारखानाहरूको छाता संगठन ‘सूर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एशोसिएसन नेपाल’ले प्रेस विज्ञप्ति जारी गर्दै चिया क्षेत्रमा उत्पन्न गम्भीर संकटका कारण आगामी २०८३ असार १ गते (भोलि) देखि उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको जनाएको हो ।
‘यस्तो विषम परिस्थितिमा हामी सम्पूर्ण उद्योगीहरू बाध्य भएर आगामी दिनमा उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण उद्योगहरू आगामी २०८३ असार १ गते देखि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जानकारी गराउँदछौं ।’
भारतीय चिया बोर्डले हालै मात्र जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’का कारण नेपाली चिया निर्यातमा गम्भीर अवरोध सिर्जना भएको छ ।
जटिल गुणस्तर जाँच, अपारदर्शी नतिजा र भण्डारणको अभाव जस्ता समस्याले गर्दा ठूलो परिमाणमा तयारी चिया थन्किएको छ ।
एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले अहिले करिब १२ लाख किलो तयारी चिया अलपत्र परेको बताए । एशोसिएसनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘जटिल गुणस्तर जाँचको बहानामा भारतीय बजारमा पुगेको करिब २ लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदाममै रोकिएको अवस्था छ । । यता नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएर बसेको छ ।’
भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको नमुनाको रिपोर्ट महिनाौंसम्म नदिने र रिपोर्टमा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियमहरू थपेको उद्योगीहरूको गुनासो छ ।
निर्यात ठप्प भएपछि उद्योगहरूले चिया किसानलाई हरियो पत्तीको भुक्तानी समेत दिन नसक्ने अवस्था सिर्जना भएको एसोसिएसनले जनाएको छ । गोदामहरू पूर्ण रूपमा भरिएका कारण उद्योगहरूले थप चिया प्रशोधन गर्न सक्ने अवस्था समेत नरहेको विज्ञप्तिमा उल्लेख छ ।
सूर्योदय क्षेत्रका हजारौँ चिया किसानहरूले उत्पादन गरेको हरियो चियापत्ती बिक्री हुन छाडेपछि उनीहरूको आम्दानीको स्रोत ठप्प हुने अवस्था आएको छ ।
एसोसिएसनले विज्ञप्तिमार्फत यो गम्भीर समस्याको उचित र दीर्घकालीन निकासका लागि नेपाल सरकार (स्थानीय, प्रदेश र संघीय सरकार), सम्पूर्ण राजनीतिक दल, उद्योगी, किसान र सरोकारवाला पक्षहरूसँग उच्च–स्तरीय कूटनीतिक पहल र ऐक्यबद्धताका लागि अपिल गरेको छ ।
