काठमाडौं, ३१ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेइजिङ प्रस्थान गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी यीसँग द्विपक्षीय वार्ता गर्ने छन् । वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीन बसाइका क्रममा मन्त्री खनालले त्यहाँका अन्य उच्चस्तरीय नेता तथा विशिष्ट व्यक्तिहरूसँग पनि भेटघाट गर्नेछन् ।
भ्रमणकै सिलसिलामा मन्त्री खनाल बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना गरिने ‘लगानी सम्मेलन’ मा सहभागी हुनेछन् । नेपालमा वैदेशिक लगानी भित्र्याउने र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त सम्मेलनमा उनले चिनियाँ व्यवसायीहरूसँग विशेष अन्तरक्रिया समेत गर्नछन् ।
साथै, मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट र संवाद गर्नेकार्यक्रम पनि छ । परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते काठमाडौँ फर्कनेछन् ।