साढे ४६ खर्ब नाघ्यो धितोपत्र बजार पूँजीकरण

अनलाइनसमय |
२७ जेठ २०८३
साढे ४६ खर्ब नाघ्यो धितोपत्र बजार पूँजीकरण

काठमाडौं, २७ जेठ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को वैशाख मसान्तसम्ममा धितोपत्र बजार पूँजीकरण ४६ खर्ब ५६ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ६ दशमलव ८३ प्रतिशतल वृद्धि हो । अघिल्लो आवको वैशाखसम्ममा बजार पूँजीकरण ४३ खर्ब ५८ अर्ब ७१ करोड रहेको थियो ।

२०८२ को वैशाख मसान्तमा बजार पूँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७०.३० प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा ७०.५५ प्रतिशत रहेको छ ।

वैशाखसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत कम्पनीहरूको संख्या २९४ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १०३ जलविद्युत् कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । अघिल्लो आवको वैशाखसम्ममा सूचीकृत कम्पनीहरूको संख्या २७१ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५०.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको १७.५ प्रतिशत, लगानी कम्पनीको ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.८ प्रतिशत, व्यापारिक संस्थाको ४.६ प्रतिशत, होटेलको हिस्सा ३.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

नेप्सेमा २०८३ वैशाख मसान्तमा सूचीकृत ९ अर्ब ४८ करोड शेयरको चुक्ता मूल्य ९ खर्ब ३४ अर्ब ८ करोड रुपैयाँ रहेको छ । चालू आवको दश महिनामा ४५ अर्ब ५४ करोड रपैयाँ बराबरको साधारण शेयर, ४० अर्ब ३३ करोड बराबरको बोनस शेयर, ९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर, २७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४५ करोड बराबरको डिबेन्चर, ९७ करोड १७ लाख बराबरको एफपीओ र २ करोड २९ लाख बराबरको अन्य गरी कुल १ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २७ अर्ब २३ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्ब १२ करोड बराबरको साधारण शेयर, ४ अर्ब ९४ करोड बराबरको हकप्रद शेयर, २० करोडको डिबेन्चर र ५ करोडको एफपीओ गरी कुल ४१ अर्ब ५३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस