राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा 

अनलाइनसमय |
२६ जेठ २०८३
राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा 

काठमाडौं, २६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा मागेको छ ।

आर्थिक विधेयकमा करको दर हेरफेर गरेको विषयमा राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले छानबिनको माग गर्दै छानबिन प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक खुस्बु ओलीले भनिन्, ‘आज अर्थमन्त्रीज्यू आउनुभएको छ, उहाँले यस संसद्मा आएर स्पष्टीकरण दिनुहुन्छ होला । तर यो विषय यति गम्भीर भएको छ कि निष्पक्ष र विश्वसनीय छानबिन अब अपरिहार्य बनिसकेको छ । त्यसैले छानबिन प्रक्रिया सम्पन्न नहुँदासम्म अर्थमन्त्रीले आफ्नै विवेक प्रयोग गरेर, सुशासन कायम गर्नको लागि नैतिकता र निष्पक्षताको दृष्टिकोणले उहाँले आफू आफ्नो जिम्मेवारीबाट पर रहनुपर्छ जस्तो लाग्छ ।’

संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रूपमा विधेयक अगाडि सारेपछि यो विषयमा सरकारको आलोचना भइरहेको छ । अर्थमन्त्री डा. वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस