रूसको आर्थिक मञ्चमा ८९.६ अर्ब डलरभन्दा बढीको सम्झौता

अनलाइनसमय |
२४ जेठ २०८३
रूसको आर्थिक मञ्चमा ८९.६ अर्ब डलरभन्दा बढीको सम्झौता

काठमाडौं, २४ जेठ । सन् २०२६ को सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च (एसपीआईइएफ)मा करिब १,०८० भन्दा बढी सम्झौतामा हस्ताक्षर गरिएको छ, जसको कुल मूल्य करिब ६.६ ट्रिलियन रुबल (८९.६ अर्ब अमेरिकी डलर) बराबर रहेको एक मञ्च अधिकारीले बताएका छन् ।

मञ्चको आयोजक समितिका कार्यकारी सचिव एन्तोन कोब्याकोभका अनुसार, बुधबारदेखि शनिबारसम्म सेन्ट पिटर्सबर्गमा आयोजित वार्षिक मञ्चमा कुल १,०८४ वटा सम्झौता सम्पन्न भएका हुन् ।

उनले उक्त मञ्चमा १४२ देशका प्रतिनिधिहरूको सहभागिता रहेको पनि जानकारी दिए । उनले भने, “पहिलो पटक १० वर्षपछि आधिकारिक अमेरिकी प्रतिनिधिमण्डल पनि मञ्चमा सहभागी भयो ।”

उनले थप स्पष्ट पारे, “विश्वका १४२ देशका प्रतिनिधिहरूले सहभागिता जनाए, जसले वास्तविक अन्तर्राष्ट्रिय चासो देखाएको छ ।”

मञ्चमा व्यापार, लगानी, ऊर्जा, प्रविधि, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय आर्थिक सहकार्यका विविध विषयमा छलफल हुनुका साथै विभिन्न क्षेत्रसँग सम्बन्धित सम्झौतामाह हस्ताक्षर गरिएको थियो ।

रुसको प्रमुख अन्तर्राष्ट्रिय आर्थिक कार्यक्रमका रुपमा परिचित यो मञ्चले विश्वभरका सरकारी प्रतिनिधि, उद्योगी, लगानीकर्ता तथा आर्थिक नीति निर्माताहरूलाई एकै थलोमा ल्याउने गरेको छ ।

विश्व अर्थतन्त्रमा देखिएका चुनौती, क्षेत्रीय सहकार्य, नयाँ लगानी अवसर तथा दीर्घकालीन आर्थिक विकासका रणनीतिबारे समेत मञ्चमा व्यापक छलफल भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस