जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

अनलाइनसमय |
२४ जेठ २०८३
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं, २४ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेकाले त्यसको सामनाका लागि जनस्वास्थ्यमा आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मन्त्री मेहताले स्वच्छ खानपानको सुनिश्चितता मार्फत जनस्वास्थ्यको स्तर उकास्न सरकारले उच्च प्राथमिकता दिएको बताइन् ।

मन्त्री मेहताले खाद्य स्वच्छतालाई सुदृढ बनाउन सरकारले हालै ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को प्रभावकारी कार्यान्वयनलाई जोड दिएको जानकारी दिइन् । यसका साथै खाद्य परीक्षण प्रयोगशालाहरूको सबलीकरण, जोखिममा आधारित बजार अनुगमन र नीतिगत सुधारका कार्यहरूलाई तीव्रता दिइएको शुभकामना सन्देशमा उल्लेख छ ।

खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण शृङ्खलामा स्वच्छता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दे उनले असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उचित भण्डारण जस्ता विधिहरू अवलम्बन गर्न जरुरी रहेको बताइन् ।

उनले असल अभ्यासले बजारमा गुणस्तरीय खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै अस्वस्थकर खानपानबाट हुने मानवीय क्षति र आर्थिक भारलाई समेत कम गर्ने उल्लेख गरिन् ।

आज नेपालसहित विश्वभर ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार प्रत्येक वर्ष ६० करोड मानिसले दूषित खानाका कारण बिरामी पर्ने र चार लाख २० हजार मानिसले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ ।

May be an image of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस