काठमाडौं, २४ जेठ । दुवै पक्षबीच नयाँ युद्धविराम सम्झौता भएको केही दिनमै शनिबार दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन लेबनानी सैनिकसहित ९ जनाको मृत्यु भएको लेबनानी सेना र राज्य नियन्त्रित सञ्चार माध्यमले जनाएका छन् ।
लेबनानका राष्ट्रपति जोसेफ आउनले आफ्नो सेनामाथि भएको यस आक्रमणलाई देशको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानूनको ‘घोर उल्लंघन’ भन्दै यसले ‘दक्षिणी क्षेत्रको स्थिरता र सुरक्षालाई खतरामा पार्ने गरी तनाव बढाएको’ बताएका छन् ।
नबातिया सहर र मारजायुन सहर जोड्ने सडकमा एउटा गाडीलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा एक ब्रिगेडियर जनरल, एक क्याप्टेन र अर्का एक सैनिकको मृत्यु भएको सेनाले जनाएको छ, यद्यपि उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।
यसैगरी, साक्साकिया गाउँमा भएको अर्को हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको र चार जना घाइते भएको नेशनल न्यूज एजेन्सीले जनाएको छ ।
लेबनानको सेनाले इजरायलको निरन्तर, नियतवश र बारम्बारको आक्रामक व्यवहारको उद्देश्य ‘स्थिरता पुनर्बहाली गर्ने, व्यापक युद्धविराम स्थापना गर्ने र कब्जा गरिएका लेबनानी भूभागबाट इजरायली फिर्ता गराउनेतर्फका’ प्रयासहरूलाई असफल पार्नु रहेको बताएको छ ।
अर्कोतर्फ, इजरायली सेनाले एक सवारी साधनमाथि आक्रमण गरिएको पुष्टि गर्दै उक्त गाडी कफर तिबनित गाउँ नजिकै सैनिकहरूतर्फ शङ्कास्पद रूपमा अघि बढिरहेको दाबी गरेको छ । इरान समर्थित हिजबुल्लाह लडाकु समूहले सोही क्षेत्रबाट इजरायली सैनिकहरूमाथि आक्रमण गर्ने ठोस संकेत पाएपछि आफूहरूले कारबाही गरेको इजरायलको भनाइ छ । सेनाले आफूहरूले हिजबुल्लाह विरुद्ध मात्र अपरेसन चलाएको र लेबनानी सेना विरुद्ध नभएको स्पष्ट पारेको छ ।
इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्ना दुई सैनिकको मृत्यु भएको घोषणा गरेको छ, यद्यपि उनीहरूको मृत्यु कुन मितिमा भएको हो भन्ने खुलाइएको छैन ।
वासिङ्टनमा घोषणा गरिएको पछिल्लो युद्धविराम इजरायल र लेबनान सरकारबीच अमेरिकाको मध्यस्थतामा भएको वार्तामार्फत सम्भव भएको थियो । लेबनान सरकारले हिजबुल्लाहमाथि देशलाई युद्धमा धकेलेको आरोप लगाउँदै आएको छ । हालैको शत्रुता सुरु हुनुअघि उसलाई निशस्त्र पार्ने प्रयास समेत गरेको थियो। हिजबुल्लाहले भने यो युद्धविराम अस्वीकार गरेको छ ।
इजरायली सेनाले लेबनानको करिब पाँचौँ भाग कब्जा गरिसकेको छ, जुन सन् १९८२–२००० को इजरायली कब्जा समाप्त भएयताकै सबैभन्दा भित्रसम्मको प्रवेश हो ।