काठमाडौं, २२ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन् । भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको सौहार्दपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल नयाँदिल्ली प्रस्थान गरेका हुन् । उनको औपचारिक भ्रमण आइतबारसम्म चल्नेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत पारस्परिक हितका विषयमा छलफल गर्दै विभिन्न क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा विचार–विमर्श गर्ने कार्यसूची छ ।
मन्त्रालयले नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको क्रमअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
भारतमै रहेका रास्वपा सभापति रवि लामिछाने भने ५ दिने भ्रमण सकेर आज स्वदेश फर्किँदै छन् ।