काठमाडौँ, २१ जेठ । त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदामा गएर सेवामा नफर्किएकाहरूबाट १० करोड ४६ लाखभन्दा बढी रकम फिर्ता भएको छ ।
सहकुलपति तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकबाट उक्त रकम फिर्ता भएको हो ।
मन्त्री पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने अभियान अन्तर्गत यो कदम चालिएको र अन्य प्राध्यापकहरू पनि रकम फिर्ता गर्ने प्रक्रियामा आउने क्रम जारी रहेको जानकारी दिए ।
अध्ययन बिदामा गएर नफर्किँदा सार्वजनिक स्रोत, राज्यको लगानीको दुरूयोग भएको उनले बताए ।
‘अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष अवसर हो। तर सार्वजनिक स्रोत र राज्यको लगानीबाट प्राप्त उक्त सुविधाको दुरुपयोग गरी सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक मात्र होइन, शैक्षिक र नैतिक क्षति समेत पु¥याएको छ,’ उनले भने ।
मन्त्रालयले गम्भीरतापूर्वक लिँदै विश्वविद्यालयलाई आवश्यक पहल गर्न प्रोत्साहित गरेको मन्त्री पोखरेलले उल्लेख गरेका छन् ।
‘छानबिन र कानुनी प्रक्रियाको परिणामस्वरूप रकम फिर्ता हुने क्रम तीव्र बनेको छ । यो उपलब्धि केवल रकम असुलीको विषय होइन, सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने, संस्थागत अनुशासन कायम गर्ने र उच्च शिक्षा प्रणालीप्रति नागरिकको विश्वास सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदम हो,’ मन्त्री पोखरेलले भनेका छन् ।
शिक्षा क्षेत्रमा सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ गर्दै सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्धतासमेत जनाएका छन् ।