ज्ञानेन्द्र शाहीको माग : दरबार हत्याकाण्डबारे राष्ट्रपति पौडेलसँग बयान लिइयोस्

अनलाइनसमय |
१९ जेठ २०८३
ज्ञानेन्द्र शाहीको माग : दरबार हत्याकाण्डबारे राष्ट्रपति पौडेलसँग बयान लिइयोस्

काठमाडौं, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वि.सं. २०५८ सालमा भएको नारायणहिटी दरबार हत्याकाण्डको निष्पक्ष र पारदर्शी रूपमा छानबिन गर्न माग गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई एक अपील जारी गर्दै नेता शाहीले सो घटना हुँदा देशको गृहमन्त्री रहेका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत बयान लिन वा आवश्यक जानकारी माग्न सुझाव दिएका हुन् ।

उनले भनेका छन्, ‘नेपाल सरकारलाई मेरो विनम्र अपिल छ । दरबार हत्याकाण्ड भएको समयमा देशका गृहमन्त्री रहनुभएका व्यक्ति आज राष्ट्रपतिको जिम्मेवारीमा हुनुहुन्छ । त्यस समयको परिस्थितिबारे उहाँसँग महत्त्वपूर्ण जानकारी, अनुभव वा दृष्टिकोण हुन सक्ने भएकाले सत्यतथ्य पत्ता लगाउने उद्देश्यले उहाँको बयान लिने, आवश्यक जानकारी माग्ने वा छानबिन प्रक्रियामा सहयोग गर्न अनुरोध गर्ने विषयमा सम्बन्धित निकायले विचार गरोस् ।’

पूर्वराजपरिवारप्रति श्रद्धान्जली अर्पण गर्दै शाहीले लेखेका छन्, ‘हामी न्याय खोजिरहेका छौँ । राजपरिवारले न्याय नपाएको देशमा के गरिब, दुःखी र निमुखा जनताले न्याय पाउँथे र ?’

दरबार हत्याकाण्डको विषयलाई लिएर अहिले पनि जनस्तरमा अनेकौँ आशंका र अन्योल कायमै रहेको भन्दै नेता शाहीले भनेका छन, ‘दरबार हत्याकाण्ड कसले गर्यो भन्ने प्रश्न आज पनि धेरै नेपाली जनताको मनमा जीवित छ । त्यसैले यस घटनाको निष्पक्ष, स्वतन्त्र, पारदर्शी र विश्वसनीय छानबिन गरियोस् भन्ने मेरो जोडदार माग छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस