काठमाडौं, १९ जेठ । रुसले मंगलबार रातभर युक्रेनका विभिन्न सहरहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । उक्त आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने दर्जनौँ नागरिक घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार मध्य युक्रेनको ड्निप्रो सहरमा पाँच जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । त्यसैगरी राजधानी किभमा चार जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन् । घाइतेमध्ये ३५ जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
किभका मेयर भिताली क्लिस्च्कोले आक्रमणका कारण दुईवटा बहुमञ्जिला आवासीय भवनमा ठूलो क्षति पुगेको जानकारी दिएका छन् । भग्नावशेषमुनि अझै केही व्यक्ति फसेको आशंका गरिएको भन्दै उद्धार कार्य जारी रहेको उनले बताए ।
हालै युक्रेनले रुसी नियन्त्रणमा रहेको लुहान्स्क क्षेत्रमा ड्रोन आक्रमण गरी २१ जनाको ज्यान लिएको घटनापछि रुसले प्रतिशोधात्मक कारबाही गर्ने चेतावनी दिएको थियो । त्यसकै निरन्तरतास्वरूप यो आक्रमण भएको अनुमान गरिएको छ ।
आक्रमणपछि राजधानी किभका बासिन्दालाई सुरक्षित आश्रयस्थलमा बस्न आग्रह गरिएको छ । किभ सिटी सैन्य प्रशासनका प्रमुख तिमुर काचेन्कोले रुसले ब्यालिस्टिक क्षेप्यास्त्रसमेत प्रयोग गरेर आक्रमण गरिरहेको बताएका छन् ।
रुसको आक्रमणको जोखिम बढेपछि युक्रेनका अधिकांश क्षेत्रमा हवाई हमलाको चेतावनी जारी गरिएको थियो । राजधानी किभको आकाशमा बाक्लो धुवाँ देखिएको थियो भने रातभर विस्फोटका आवाज सुनिएका थिए ।
ड्रोनको लगातार उडान र विस्फोटका कारण सहरका विभिन्न स्थानमा आगलागी भएको छ । मेयर क्लिस्च्कोका अनुसार पेट्रोल पम्प नजिक, निर्माणाधीन भवन, अपार्टमेन्ट तथा निजी आवासहरूमा आगलागी भएको छ । केही क्षेत्रमा विद्युत् आपूर्ति समेत प्रभावित भएको छ ।
यता, रुसको दक्षिणी क्षेत्रमा रहेको इल्स्की तेल प्रशोधन केन्द्रमा पनि ड्रोन आक्रमण भएपछि आगलागी भएको स्थानीय आपतकालीन सेवाले जनाएको छ ।