काठमाडौं, १८ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि चीनका राजदूत चाङ माउ मिङ्गबीच भेटवार्ता भएको छ ।
सोमबार मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ सम्बन्ध तथा स्वास्थ्य क्षेत्रको सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटमा मन्त्री मेहताले नेपालका कठिन विभिन्न परिस्थितिमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनामा प्राप्त सहयोगको प्रशंसा गरिन् ।
साथै उनले नवनियुक्त राजदूतको कार्यकालको शुभकामना व्यक्त गर्दै चीनको प्रशंसनिय विकासबाट नेपालले पनि सिकेर काम गर्ने बताइन् ।
भेटको अवसरमा राजदूत चाङले ठूलो जनादेशसहित गठन भएको वर्तमान सरकारलाई बधाई दिँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा सरकारले महत्वपूर्ण उपलब्धि हासिल गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।
उनले चीन सरकार नेपाल सरकारको प्रथमिकताका क्षेत्रमा सहयोग गर्न सदैव तयार रहेको बताए । राजदूत चाङले परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, स्वास्थ्य पूर्वाधार विकास तथा खाद्य स्वच्छतासम्बन्धी विविध क्षेत्रमा क्षमता अभिवृद्धि, प्राविधिक सहयोग र अनुभव आदानप्रदान गर्न सकिने प्रस्ताव समेत राखेका थिए ।