काठमाडौं, १८ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यसैका कारण अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल, मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बादल तथा बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरू, सुदुरपश्चिम प्रदेशको तराई लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राती सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।