काठमाडौं, १८ जेठ । सानिगाड हाइड्रो लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारणमा आईपीओ जारी गरेको हो ।
कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्ने स्वीकृति प्राप्त गरेको थियो । यसअन्तर्गत पहिलो चरणमा २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई तथा ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरी बाँडफाँट गरिसकिएको छ ।
त्यसैगरी, कम्पनीले १ लाख ७१ हजार कित्ता शेयर कर्मचारीका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी वितरण गरिसकेको छ ।
अब बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा ल्याइएको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा निष्काशन गरिएको उक्त आईपीओको कुल मूल्य ४६ करोड ७४ लाख रुपैयाँ बराबर रहेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार आईपीओमा आवेदन दिने अवधि छिटोमा जेठ २१ गतेसम्म रहनेछ । सो अवधिमा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असार १ गतेसम्म लम्बिन सक्नेछ ।
कम्पनीको वित्तीय तथा दायित्व बहन क्षमताको मूल्याङ्कन गर्दै इक्रा नेपालले ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाइएको छ ।