काठमाडौं, १५ जेठ । इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले सेनालाई गाजाको थप क्षेत्र कब्जा गर्न निर्देशन दिएका बताएका छन् ।
नेतन्याहुले बिहीबार आयोजित एक सम्मेलनमा आफूले इजरायली रक्षा बललाई गाजामाथिको नियन्त्रण ७० प्रतिशतसम्म बढाउन निर्देशन दिएको बताएका हुन् ।
उनले भने, ‘हामी अहिले हमासलाई दबाबमा राखिरहेका छौँ । अहिले हामी गाजा स्ट्रिपको ६० प्रतिशत भूभाग नियन्त्रणमा राख्छौँ — तपाईंहरूलाई यो थाहा छ । हामी ५०% मा थियौँ, अब ६० प्रतिशतमा पुगेका छौँ ।’ त्यसपछि भीडबाट कसैले “१००” भनेपछि उनी केहीबेर रोकिए । त्यसको जवाफमा नेतान्याहुले भने, ‘बिस्तारै अघि बढौँ । पहिले ७० प्रतिशतबाट सुरु गरौँ । हामी उनीहरूलाई चारैतिरबाट दबाब दिइरहेका छौँ, बाँकी रहेका तत्वहरूसँग पनि सामना गर्नेछौँ ।’
यो कदम अक्टोबर २०२५ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताविरुद्ध मानिएको छ । युद्धविरामपछि पनि गाजामा इजरायली आक्रमण जारी छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएदेखि हालसम्म ७३८ भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।
इजरायली रक्षा मन्त्री इजरायल काट्जले हमासलाई पूर्ण रूपमा समाप्त गर्ने बताएका छन् । साथै गाजाबाट प्यालेस्टिनीहरूलाई हटाउने योजना पनि चर्चा भइरहेको छ ।
यस हप्ता गाजामा भएका हवाई आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । इजरायलले हमासका केही कमाण्डरहरूलाई निशाना बनाएको जनाएको छ ।
इजरायली सेनाले छोटो वक्तव्य जारी गर्दै ‘उत्तरी गाजा स्ट्रिपमा रहेका दुई केन्द्रीय हमास आतंककारीलाई निशाना बनाइएको’ जनाएको छ, तर उनीहरूको पहिचान सार्वजनिक गरेको छैन ।
२०२३ मा हमासद्वारा गरिएको आक्रमणमा करिब १ हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो । यही घटनाले गाजा युद्धको सुरुआत गराएको थियो ।
त्यसपछि इजरायलले गाजामा व्यापक सैन्य अभियान सुरु ग¥यो, जसले गाजाको ठूलो भूभाग ध्वस्त गरी त्यहाँका २१ लाख बासिन्दामध्ये धेरैलाई विस्थापित गराइएको थियो ।
१२ मे २०२६ सम्म, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा ७२ हजार ७४२ प्यालेस्टिनी मारिएका छन् भने १ लाख ७२ हजार ५६५ जना घाइते भएका छन् ।