काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज संघीय संसद्मा बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट अर्थमन्त्री बनेपछि वाग्लेले पहिलोपटक पूर्ण बजेट ल्याउन लागेका हुन् । सरकारले यस वर्षको बजेटलाई सुधारमुखी, पारदर्शी र नतिजामुखी बनाउने दाबी गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार बजेट निर्माण गर्दा रास्वपाको निर्वाचन घोषणापत्र, सरकार गठनपछि सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्ययोजना तथा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाइएको छ ।
संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्थाअनुसार आज बजेट प्रस्तुत हुन लागेको हो । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ ।