काठमाडौं, १४ जेठ । नेपालमा प्राविधिक शिक्षा उत्तीर्ण गर्नेहरूमध्ये ५८ दशमलव २ प्रतिशत मात्रै रोजगारीमा आबद्ध छन् । बुधबार सार्वजनिक आर्थिक सर्वेक्षणकाअनुसार प्राविधिक शिक्षातर्फ उत्तीर्ण भएका ५८.२ प्रतिशत प्रशिक्षार्थीले मात्रै रोजगारी प्राप्त गरेका छन् ।
प्री–डिप्लोमा र डिप्लोमा वा प्रमाणपत्र तह उत्तीर्ण गर्नेहरूमध्ये अझै पनि ४१.८ प्रतिशत जनशक्ति रोजगारीको खोजीमा छन् ।
सर्वेक्षणका अनुसार प्राविधिक शिक्षाका विभिन्न विधासँग तुलना गर्दा स्वास्थ्य क्षेत्र रोजगारीका हिसाबले सबैभन्दा अगाडि छ । स्वास्थ्यतर्फ प्राविधिक शिक्षा उत्तीर्ण गर्नेहरूमध्ये ६७.८ प्रतिशतले रोजगारी पाएका छन् ।
होटल व्यवस्थापनतर्फ ६६.७ प्रतिशत, इन्जिनियरिङतर्फ ५९.४ प्रतिशत र कृषि क्षेत्रतर्फ ४४.३ प्रतिशतले रोजगारी पाएका छन् ।
डिप्लोमा तहमा महिलाको हिस्सा उच्च
हाल परिषद् अन्तर्गतका शिक्षालय तथा संस्थाहरूमा कुल ३२ हजार प्रशिक्षार्थीहरू अध्ययनरत छन् । तीमध्ये डिप्लोमा तहमा ७७.१ प्रतिशत, प्रि–डिप्लोमा तहमा १५.३ प्रतिशत र एप्रेन्टिसीप तहमा ७.६ प्रतिशत प्रशिक्षार्थी छन् । डिप्लोमा तहमा अध्ययन गर्नेहरूमा पुरुषको तुलनामा महिला प्रशिक्षार्थीको हिस्सा उच्च रहेको सर्वेक्षणले देखाएको छ ।
यसैगरी, आर्थिक वर्ष २०८१÷८२ सम्म विभिन्न तह र पेसामा सीप परीक्षण प्रमाणीकृत भएका जनशक्तिको सङ्ख्या ५ लाख ११ हजार ५ सय ६६ पुगेको छ । सन् २०२३ मा गरिएको एक ट्रेसर अध्ययनअनुसार सीप परीक्षण तह १, २ र ३ उत्तीर्ण गर्नेहरूको रोजगारी अवस्था क्रमशः ५६.० प्रतिशत, ७८.१ प्रतिशत र ८०.४ प्रतिशत रहेको छ ।
सीप परीक्षणबाट उत्पादित जनशक्तिमध्ये मेकानिकल, अटोमोबाइल र निर्माण क्षेत्रमा रोजगारीको दर उच्च रहेको छ । सबैभन्दा कम रोजगारी कृषि क्षेत्रमा ३४.५ प्रतिशत मात्रै रहेको सर्वेक्षणमा उल्लेख छ ।