काठमाडौं, १४ जेठ । इजरेली सेनाले दक्षिणी लेबननको ठूलो भूभाग खाली गर्न आदेश जारी गरेको छ । हिज्बुल्लाहविरुद्ध नयाँ हमला गर्नुअघि ती क्षेत्रहरूलाई उसले ‘लडाइँ इलाका’ घोषणा गरेको छ ।
इजरेली डीफेन्स फोर्सेस् (आईडीएफ) ले त्यहाँका बासिन्दाहरूलाई सीमाबाट करिब ४० किलोमिटर (२५ माइल) टाढा जहरानी नदीभन्दा उत्तरतिर जान भनेको छ ।
हिज्बुल्लाहमाथि बारम्बार युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आईडीएफले ‘कठोर बल’ प्रयोग गर्ने चेतावनी दिएको छ । यो १७ अप्रिलमा युद्धविराम लागू भएपछि जारी गरिएको सबैभन्दा ठूलो स्थानान्तरण आदेश हो, जसले लेबनानको करिब १४ प्रतिशत भूभाग समेटेको छ ।
यसअघि बुधबार इजरायलले दक्षिणी शहर टायरमा हवाई आक्रमण गरेको थियो । हेजबुल्लाहले भने इजरायलले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आफ्ना लडाकुहरू इजरायली सैनिकसँग भिडन्तमा उत्रिएको जनाएको छ ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले दक्षिणी लेबननको केही भूभाग नियन्त्रणमा लिएर बसेको फौज र उत्तरी इजरेलका बासिन्दाहरूमाथि हिज्बुल्लाहले ड्रोन आक्रमण गरेपछि आफ्नो स्थल फौजी कारबाही विस्तार गर्ने घोषणा गरेका थिए ।
पछिल्लो २४ घण्टामा आईडीएफले नौवटा स्थानान्तरण चेतावनी जारी गरेको छ, जसले इजरायल–लेबनान सीमामा ठूलो द्वन्द्व चर्किने र फेरि व्यापक विस्थापन हुने डर बढाएको छ ।
दक्षिणी लेबनानको प्रमुख शहरमध्ये एक टायरका लागि जारी चेतावनीपछि तुरुन्तै हवाई आक्रमण भएको थियो ।
जाहरानी नदीको दक्षिणी क्षेत्र खाली गर्न दिइएको आदेशले करिब ३०० शहर र गाउँ समेटेको छ । तीमध्ये धेरै मानिस पहिले नै दक्षिणी लेबनानका अन्य क्षेत्रबाट विस्थापित भइसकेका छन् र अब उनीहरूसँग जाने सुरक्षित ठाउँ छैन ।
लेबनानस्थित अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) की प्रमुख एग्नेस धुरले दक्षिणी लेबनानको अवस्था ‘खतरनाक मोड’ नजिक पुगेको चेतावनी दिएकी छन् ।
अधिकारीहरू र मानवीय सहायता कर्मीहरूले राजधानी बेरुतको दक्षिणमा रहेको तटीय शहर सिडोनले थप विस्थापित परिवार धान्न नसक्ने बताएका छन् । उनीहरूले नागरिकलाई पूर्वतर्फ पर्ने बेका उपत्यका र माउन्ट लेबनान क्षेत्रमा जान आग्रह गरेका छन् ।
बुधबार लेबनानी सञ्चारमाध्यमहरूले दक्षिणी क्षेत्र र पूर्वी बेका उपत्यकामा इजरायलले व्यापक हवाई आक्रमण गरेको जनाएका छन्, जसमा चौकिने र नाबाटिएह शहरमा चार जनाको मृत्यु भएको छ ।
यसअघि २४ घण्टाभित्र इजरायलले दक्षिणी लेबनान र बेका उपत्यकाका करिब ५० शहर तथा गाउँमा १५० भन्दा बढी हवाई आक्रमण गरेको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मात्र कम्तीमा ३१ जनाको मृत्यु भएको छ, जसमा टायर नजिकको बुर्ज अल–शामाली शहरका १५ जना पनि छन् ।