आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण

अनलाइनसमय |
१३ जेठ २०८३
आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण

काठमाडौं, १३ जेठ । आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण सरकारले गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा पेस गरेका आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको हो । गत आर्थिक वर्ष २०८१/८२ मा यस्तो वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो ।

नयाँ आर्थिक सर्वेक्षणले मुलुकको समग्र आर्थिक स्थिति, क्षेत्रगत उपलब्धि र नीतिगत सुधारका प्रयासहरूको विश्लेषण गरेको छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ४.५४ प्रतिशत रहने अनुमान छ । गत वर्ष यी क्षेत्रको वृद्धिदर क्रमश ः ३.०५ प्रतिशत र ४.१२ प्रतिशत रहेको थियो ।

यसैगरी, कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को संरचनामा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ६१.८१ प्रतिशत रहने अनुमान छ । यस्तै प्राथमिक क्षेत्रको योगदान २४.४६ प्रतिशत र द्वितीय क्षेत्रको १३.७३ प्रतिशत रहने देखिएको छ ।

साथै, यातायात, भण्डारण, सूचना तथा सञ्चार र खुद्रा व्यापार जस्ता क्षेत्रहरूमा सामान्य वृद्धि भएको सर्वेक्षणले देखाएको छ। यस्तै, चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९ सय ४६ रुपैयाँ पुग्ने अनुमान छ। अमेरिकी डलरमा भने यो १ हजार ५ सय १३ डलर रहने देखिएको छ, जुन गत वर्ष १ हजार ५ सय १६ डलर रहेको थियो। यस वर्ष बागमती र गण्डकी प्रदेश बाहेक अन्य सबै प्रदेशहरूको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस