काठमाडौं, १३ जेठ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को १० महिनामा निर्जीवन बीमा कम्पनीहरूको ४० अर्बभन्दा धेरैको व्यवसाय भएको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालू आवको वैशाखसम्ममा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ४० अर्ब २९ करोड ५७ लाख रुपैयाँको बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १४ दशमलव ८० प्रतिशतले बढी हो । गत आवको दश महिनामा यी कम्पनीले ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।
चालू आवको दश महिनामा २४ लाख ११ हजार ६६२ वटा बीमालेख जारी भएको छ । त्यस्तै, वैशाखमा मात्रै ४ अर्ब १ करोड ४५ लाख रुपैयाँको व्यवसाय भएको छ ।
निर्जीवन बीमा व्यवसाय गर्ने १४ कम्पनीमध्ये सबैभन्दा अगाडि शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले कम्पनीले चालू आवको वैशाखसम्ममा ५ अर्ब १९ करोड २२ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।
शिखर इन्स्योरेन्स पछि सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्स्योरेन्सले बीमाशुल्क संकलन गरेको छ । कम्पनीले सो अवधिमा ४ अर्ब ३७ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब २५ करोड ८६ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।
त्यस्तै, आईजिआई प्रूडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ५१ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ५९ करोड, एनएलजी इन्स्योरेन्सले ३ अर्ब ४४ करोड, नेको इन्स्योरेन्सले ३ अर्ब १ करोड र दि ओरियन्टल इन्स्योरेन्सले २ अर्ब ५८ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।
अन्य बीमा कम्पनीहरूमध्ये युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ४७ करोड रुपैयाँ, सानिमा जिआईसीले २ अर्ब ३६ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ८१ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ४९ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १८ करोड र नेशनल इन्स्योरेन्सले १ अर्ब ६ करोड रुपैयाँ बराबर बीमाशुल्क संकलन गरेका छन् ।