काठमाडौं, १३ जेठ । नेपालस्थित गणतन्त्र कोरियाली दूतावास र नेपाल सरकारको परराष्ट्र मन्त्रालयको संयुक्त आयोजनामा दक्षिण एसियाली क्षेत्रीय सहकार्य र एकीकरणलाई केन्द्रमा राखेर आयोजित ‘दक्षिण एसिया क्षेत्रीय एकीकरण र सहयोग अभिवृद्धि सेमिनार’ सम्पन्न भएको छ । मंगलबार काठमाडौंको होटल क्राउन इम्पेरियलमा आयोजित सेमिनारमा क्षेत्रीय सहकार्यका चुनौती, सम्भावना र भावी रणनीतिबारे व्यापक छलफल गरिएको थियो ।
सेमिनारमा दक्षिण एसियालाई सांस्कृतिक विविधता, युवा जनशक्ति र विशाल बजारले भरिपूर्ण सम्भावनायुक्त क्षेत्रका रूपमा चित्रित गर्दै साझा समृद्धिका लागि क्षेत्रीय सहकार्य अपरिहार्य रहेको धारणा प्रस्तुत गरियो । ऊर्जा, यातायात, आपूर्ति शृङ्खला र दिगो विकासका क्षेत्रमा बढ्दो सहकार्यले आर्थिक तथा सामाजिक विकासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रममा नीति निर्माता, क्षेत्रीय विज्ञ तथा विभिन्न सरोकारवालाबीच दक्षिण एसियामा क्षेत्रीय एकीकरणका राजनीतिक, आर्थिक र संस्थागत चुनौतीबारे गहन बहस भएको थियो । दुई चरणमा सञ्चालन गरिएको सेमिनारको पहिलो सत्र दक्षिण एसियाली क्षेत्रीय एकीकरणको अवस्था र मूल्याङ्कनमा केन्द्रित थियो भने दोस्रो सत्रमा नीतिगत सुधार, क्षेत्रीय साझेदारी र मध्यम शक्तिसँगको सहकार्यबारे छलफल गरिएको थियो ।
त्यसैगरी, व्यापार, लगानी र विकास सहकार्यमार्फत दक्षिण एसियाली सहकार्यलाई थप प्रभावकारी बनाउन गणतन्त्र कोरिया लगायत बाह्य साझेदार राष्ट्रहरूको भूमिकाबारे पनि विचार विमर्श भएको थियो ।
सार्कमा सन् २००६ देखि पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुँदै आएको गणतन्त्र कोरियाले ऊर्जा, कनेक्टिभिटी, आर्थिक सहकार्य तथा आपूर्ति शृङ्खला विस्तारका क्षेत्रमा दक्षिण एसियाली राष्ट्रहरूसँग निरन्तर सहकार्य गर्दै आएको जनाएको छ । कोरियाले सार्क राष्ट्रहरूसँग संयुक्त कार्यशाला तथा साझेदारी कार्यक्रममार्फत व्यावहारिक सहकार्यलाई अघि बढाइरहेको पनि कार्यक्रममा उल्लेख गरिएको थियो ।
सेमिनारमा नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङ तथा सार्क सचिवालयका प्रतिनिधिले मन्तव्य राखेका थिए । साथै एनआईआईसीई, आईआईडीएस, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र सार्कका विज्ञहरूले दक्षिण एसियाली क्षेत्रीय सहकार्यका विभिन्न पक्षमा प्रस्तुति दिए ।