नेपालमा सकारात्मक परिवर्तनको संकेत देखियो : ईयू

अनलाइनसमय |
१३ जेठ २०८३
नेपालमा सकारात्मक परिवर्तनको संकेत देखियो : ईयू

काठमाडौं, १३ जेठ । नेपालका लागि युरोपेली संघ (ईयू)की राजदूत भेरोनिक लोरेन्जोले नेपाल सरकारले सुशासन, नियामक सुधार र सार्वजनिक सेवा व्यवस्थापनका क्षेत्रमा सकारात्मक पहल गरिरहेको बताएकी छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाडौं तथा नयाँदिल्लीस्थित ईयू र सदस्य राष्ट्रका राजदूतसहितको उच्चस्तरीय कूटनीतिक टोलीले प्रधानमन्त्री बालेन शाहसँग संयुक्त भेटपछि आयोजित पत्रकार सम्मेलनमा राजदूत लोरेन्जोले नेपाल र ईयूबीचको सहकार्य विभिन्न क्षेत्रमा विस्तार हुँदै गएको बताइन् ।

उनले प्रधानमन्त्री शाहसँग विकासका स्पष्ट योजना, निश्चित समयसीमा र परिणाममुखी कार्यशैली रहेको आफूहरूले महसुस गरेको सुनाइन् । उनका अनुसार नेपाल अहिले नयाँ अवसरको चरणमा प्रवेश गरिरहेकाले अन्तर्राष्ट्रिय समुदायले थप सक्रिय सहकार्य गर्नुपर्ने आवश्यकता छ । उनले नेपालमा लगानीका लागि सकारात्मक वातावरण निर्माण भइरहेको भन्दै विदेशी साझेदार र लगानीकर्तालाई सरकारसँग अझ नजिकबाट सहकार्य गर्न आग्रहसमेत गरिन् ।

उड्डयन सुरक्षाका विषयमा उनले नेपाल अझै पनि ईयूको एयर सेफ्टी सूचीमा रहेको स्मरण गराउँदै आवश्यक सुधार अपेक्षाअनुसार अगाडि बढ्न नसकेको टिप्पणी गरिन् । उनले नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायमा प्राविधिक क्षमता अभिवृद्धि, प्रमाणिकरण प्रणाली र नियामक अनुगमन सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याइन् । ईयूले सन् २०१३ देखि नेपाललाई प्राविधिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहकार्य जारी रहने उनले जानकारी दिइन् ।

प्रेस स्वतन्त्रताको प्रसंगमा उनले नेपालमा सञ्चारमाध्यमको स्वतन्त्र अवस्था तुलनात्मक रूपमा राम्रो रहेको बताइन् । तर, डिजिटल प्लेटफर्ममार्फत फैलिने गलत सूचना, ट्रोलिङ तथा लैङ्गिक हिंसाजस्ता चुनौती बढ्दै गएको उनको भनाइ थियो । लोकतान्त्रिक समाजमा आलोचनात्मक अभिव्यक्तिको वातावरण आवश्यक हुने भन्दै प्रेस स्वतन्त्रताको संरक्षणमा ध्यान दिनुपर्ने उनले उल्लेख गरिन् ।

यस्तै ईयूले नेपालका युवासँग जलवायु परिवर्तन, स्थानीय शासन र सामुदायिक विकासका क्षेत्रमा साझेदारी गर्दै आएको उनले बताइन् । राजदूत लोरेन्जोले नेपालले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफूलाई बलियो बनाउन संरचनात्मक सुधार र क्षमता विकासलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिइन् ।

यसैदिन भएको भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाली जनताको अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए । उनले राष्ट्र निर्माण र आर्थिक विकासमा युवापुस्ताको भूमिका निर्णायक हुने उल्लेख गर्दै युवाहरूबाट ठूलो योगदानको अपेक्षा गरिएको धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस